काठमाडौँ– महेन्द्रनगर जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई पक्राउ गरेको छ।
आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले बिहिबार सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जलीको गत सोमबार राती खुकुरी प्रहार गरी हत्या भएको थियो।
आरोपित साहलाई बुधबार राति करिब साढे १० बजे क्षीरेश्वरनाथ नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।
रामबाबु यसअघि आफ्नो श्रीमतीको हत्या गरी पाँच वर्ष जेल सजाय काटेर २०७७ सालमा रिहा भएका थिए।
साहले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका–१ ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी आशा यादव घाइते भएका थिए।
आशाको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आशा रामबाबुकै प्रेमी रहेको र उनकै कारण घटना घटेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रनाउ सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा केही महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए।
सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान भइ प्रेम सम्बन्ध गाँसिएको थियो।
‘आशाको श्रीमानलाई दुबैजनाको सम्बन्धका बारेमा थाहा भएपछि दुवै पक्ष बसेर गाउँमा छलफल गरी आशालाई रामबाबुको जिम्मा लगाउने सम्झौता भएको रहेछ। श्रीमानले दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि उनीहरु छुट्टिएका रहेछन्,’ उनले भने।
आशाको सुरुमा आर्थिक अवस्था कमजोर रहेकामा पछि आर्थिक अवस्था सुध्रिँदै जाँदा रामबाबुसँग टाढिन थालेको र पूर्व श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी प्रनाउ सिंहले जानकारी दिए।


