काठमाडौँ- बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरेका छन्। इजरायलस्थित नेपाली दूतावास अधिकारीका अनुसार राष्ट्रपति हर्जोगसँग आमा पद्मा जोशी र बहिनी पुष्पाले हमासद्वारा बेपत्ता बनाइएका बिपिनको रिहाइका लागि पहल गरिदिन माग गरेका हुन्।
भेटमा नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। आमा र बहिनीले राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गरेको अधिकारीहरुले बताए।
राष्ट्रपति हर्जोगले विपिनलाई आफ्नै नागरिकझैँ अनुभव गरिरहेको भन्दै सबै बन्धकहरुको रिहाइका लागि इजरायली सरकार निरन्तर लागिरहेको बताए।
विपिनकी आमा, बहिनी र राजदूतले इजरायली संसदका अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गरेका थिए।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका विपिन जोशीको साथमा सरकार रहेको बताएका छन्।
विपिनका परिवारको इजरायल भ्रमणका सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका हुन्।
‘इसराइलस्थित हाम्रो दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति इसहाक हर्गोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ। यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ। सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ,’ उनले भनेका छन्।
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत् निरन्तर संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन्।
‘इसराइलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवाद! विपिनका परिवारको साथमा सरकार छ,’ प्रधानमन्त्रीको भनाइ छ।


