लमजुङ- लमजुङको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थामा ६ करोड ५४ लाख रुपैयाँ अपचलनको आरोपमा तीन जना पक्राउ परेका छन्। मर्स्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतसहित तीन जना पक्राउ परेको लमजुङ प्रहरीले जानकारी दिएको छ।
रावत बेंसीसहरबाट पक्राउ परेका हुन्। उनी सहकारीमा व्यवस्थापक, अध्यक्ष तथा लेखा समितिका पदाधिकारीसमेत बनेका थिए। यस्तै संस्थाका पूर्वकोषाध्यक्ष अरुणकान्त घिमिरे र पूर्वअध्यक्ष नारायण बहादुर सुँयाल पनि पक्राउ परेका छन्। उनीहरूलाई अदालतमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
‘सुनौलो भविष्यको बचत रकम अपचलनमा संलग्न भएको आरोप लागेका तीन जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको छ,’ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले भने, ‘थप आरोपितहरूको पनि खोजी भइरहेको छ।’ सहकारीको रकम अपचलनको आरोपमा १७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको प्रारम्भिक प्रतिवेदनअनुसार यो सहकारीमा ६ करोड ५४ लाख रुपैयाँ अपचलन भएको हो।
यो सहकारीको रकम अपचलनमा जोडिएको आरोप लागेका नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरीप्रसाद बराल र लमजुङ नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति आनन्द घिमिरे फरार छन्। बराल सो सहकारीको लेखा समिति संयोजक थिए भने घिमिरे लेखापरीक्षकको भूमिकामा संलग्न थिए। पक्राउ पूर्जी जारी भए पनि उनीहरू हालसम्म पक्राउ नपरेकाले खोजी गरिरहेको प्रहरीको भनाइ छ। यस्तै बेसीशहर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शिवप्रसाद जोशी, संस्थाका हालका अध्यक्ष ऋषि अधिकारी, सहकारीका पूर्वसचिव घनबहादुर कुताल पनि फरार छन्।
बचतकर्ता चिनिमाया गुरुङले सहकारीमा जम्मा गरेको रकम फिर्ता नहुँदा आफूहरू बर्बादीतर्फ धकेलिएको बताइन्।
सुनौलो भविष्य सहकारीको अनियमितता २०८१ असोजमा उजागर भएको थियो। न्यायको खोजीमा बचतकर्ताहरू पटकपटक पोखरा र काठमाडौं धाउँदै आएका छन्। तर एक वर्ष बितिसक्दा पनि उनीहरूले रकम फिर्ता पाएका छैनन्।


