काठमाडौँ- गत आर्थिक वर्षमा पनि मुलुकको आर्थिक गतिविधि सुस्त देखिएको छ। अर्थतन्त्र सुस्त हुँदाको असर कर्जा प्रवाहमा परेको छ। गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाहरूले लक्ष्यभन्दा कम कर्जा प्रवाह गरेका छन्।
आर्थिक वर्षको अन्तिम महिना असारसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतमात्र बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो।
असारसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूले चार खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ मात्र थप कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्षमा साढे ६ खर्ब रुपैयाँ कर्जा प्रवाह हुने अनुमान केन्द्रीय बैंकले गरेको थियो।
बैंकका अनुसार अघिल्लो वर्ष कर्जा ५.८ प्रतिशत अर्थात २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ थियो। लक्ष्य नभेटे पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष कर्जा विस्तार भएको छ। चालू आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धिको लक्ष्य तय गरिएको छ।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ र ३६.७ प्रतिशत थियो।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६, विकास बैंकहरूको ६.१ र वित्त कम्पनीहरूको ८.४ प्रतिशत बढेको छ। २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत ऋण घर जग्गाको धितोमा र १४.५ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०८१ असार मसान्तमा यो अनुपात क्रमशः ६६.५ र १३.२ प्रतिशत थियो।
गत आर्थिक वर्ष २०८१/०८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.५, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ३.४ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशत बढेको छ।
कृषि कर्जा ०.२ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ। समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशत, रियल इस्टेट ५.९, मार्जिन ५६.२, ट्रस्ट रिसिट –आयात) ५१.१, हायर पर्चेज ३.७ र डिमान्ड तथा चालु पुँजी कर्जा १३.२ प्रतिशत बढेको छ।
यसबीचमा ओभरड्राफ्ट कर्जा १०.४ प्रतिशत घटेको केन्द्रीय बैंकले जनाएको छ।काठमाडौं। गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १२.६ प्रतिशत बढेको छ।
आठ खर्ब ११ अर्ब निक्षेप संकलन
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल आठ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्।
अघिल्लो आर्थिक वर्ष यस्तो निक्षेप परिचलान १३ प्रतिशत बढेको थियो। २०८१ असास मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सात खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ बढेको राष्ट्र बैंकले जनाएको छ।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.१, ३६.८ र ४८.३ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ५.८, ३० र ५६.४ प्रतिशत थियो।
गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत छ। २०८१ असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.२ प्रतिशत थियो।
गत आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत बढेको छ। अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १२.९ प्रतिशत बढेको थियो। गत वर्ष खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँ बढेको छ। अघिल्लो वर्ष उक्त सम्पत्ति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बढेको थियो।


