काठमाडौँ: जेनजी युवाहरूको सरकारविरोधी प्रदर्शनीका कारण गत भदौ २४ गतेदेखि बन्द शेयर बजार आगामी बुधबारदेखि खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसअघि असोज २ गतेसम्म बजार बन्द रहने सूचना जारी गरे पनि सोमबार नयाँ सूचना निकाल्दै बुधबारदेखि बजार खुल्ने जानकारी गराएको हो।
नेप्सेले धितोपत्र बोर्डसँग परामर्श गरी पुन: बजार सञ्चालनको निर्णय गरेको हो।
धितोपत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०६३ मा शेयर बजार बढीमा ४ दिन सम्म मात्रै बन्द गर्नमिल्ने व्यवस्था गरेको छ। तर जेनजी प्रदर्शनका कारण यसपटक भने बजार एक साता बन्द भएको थियो।
यसअघि भूकम्प र कोरोना महामारीका समयमा पनि बजार ५ दिनभन्दा लामो समयसम्म बन्द भएको थियो। भूकम्पमा एक महिना बजार बन्द भएकोमा कोरोनाताका तीन महिनाभन्दा लामो समय बजार बन्द भएको थियो।


