काठमाडौँ: नेपालका बैंकहरूमा पैसा छ, तर लगानी हुन सकेको छैन। जसकारण बैंक तथा वित्तीय संस्थाले आफ्ना निक्षेप (बैंकले संकलन गरेको रकम) राष्ट्र बैंकमै राख्न थालेका छन्।
असोज २ गते मात्रै बैंकहरूले निक्षेप संकलन उपकरणमा ७८ अर्ब ४५ करोड बुझाएका छन्। यो रकम १० दिनका लागि राखिएको हो, जसमा औसत ब्याजदर २.७३ प्रतिशत रहेको छ। यस्तै स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत ४ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँ राखिएको छ। यो रकम ५ दिनका लागि राखिएको हो, जसको औसत ब्याजदर २.७५ प्रतिशत तोकिएको छ।
असोज २ गते एकै दिन मात्रै बैंकहरूले कुल ५ खर्ब ६५ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा बुझाएका छन्।
यसरी चालु आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १५ पटकमा ६ खर्बभन्दा बढी रकम खिचिसकेको छ। अहिले पनि २ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।
समग्रमा अहिले राष्ट्र बैंकमा ६ खर्ब ९४ अर्ब २० करोड रुपैयाँ बैंकहरूले लगानी नभएर जम्मा भएर बसेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को मध्यदेखि नै बैंकहरूमा अधिक तरलता रहेको छ। अधिक तरलता भएपछि उक्त तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई हम्मे परिरहेको छ। बजारमा माग नहुँदा तरलता हुँदा पनि कर्जा प्रवाह बढ्न सकेको छैन।


