काठमाडौंं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन्।
मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेका थिए।
मन्त्री घिसिङले २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनस्र्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए।
यस्ता छन् निर्णय
नागढुंगा सिस्नेरी-सुरुङ्गमार्गबाट काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दसैंपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने भएको छ।
नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने।
मालबाहक ठुला सवारी साधनहरु साञ्चालन सम्बन्धमाः राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिभर लागु हुने गरी ठुला भारबाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न नगराउन अनुरोध गर्ने तथा खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने गराउने।
मुलुकभरीका मुख्य सडकहरुलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल-नारायणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुंगलिन सडक खण्डको तुइन खोलामा भएको अवरोध हटाई तत्काल यातायात सञ्चालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैं अगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन सडक विभागलाई निर्देशन दिने।
आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने।
निर्देशिका सम्बन्धमाः सार्वजानिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि तथम निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेश गर्न निर्देशन दिने।
मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।


