काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लामो समयदेखि विवादमा रहेको ‘अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना’ प्रणाली हटाउने निर्णय गरेको छ। नेप्सेले आज परीक्षण स्वरूप यो विधि नचलाउने र भोलि (सोमबार) घटस्थापनाको सार्वजनिक बिदापछि नयाँ प्रणाली लागू हुने जानकारी दिएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार, यो निर्णय लगानीकर्ता तथा ब्रोकरहरूबाट आएको लगातारको गुनासो र प्रविधिगत कमजोरीका कारण लिइएको हो।
गत चैत ७ गतेदेखि लागू गरिएको यो प्रणालीमा २:४५ देखि ३ बजेसम्म भएका कारोबारको भारित औसत मूल्यलाई नेप्से सूचक निर्धारणमा आधार बनाइन्थ्यो। तर, यस विधिले बजार झनै ओरालो लागेको भन्दै लगानीकर्ताको तीव्र आलोचना भइरहेको थियो।
लगानीकर्ताहरूले यो प्रणालीले बजारको वास्तविक अवस्था नदेखाएको र अनावश्यक रूपमा सूचक घटाएको आरोप लगाएका थिए।
साउन १२ गतेको घटनामा नेप्सेले भारित औसतका आधारमा २ अंकले बजार घटेको घोषणा गरे पनि, प्रणालीमा त्रुटि देखिएपछि सूचक सच्याएर ७ अंकको वृद्धि देखाइएको थियो।
ब्रोकरहरूले नेप्सेको प्रणाली पर्याप्त अटोमेटेड र विश्वसनीय नभएको भन्दै सुधारको माग गर्दै आएका थिए। अब यो प्रणाली पूर्ण रूपमा हटाइएपछि कारोबार मूल्य र सूचक निर्धारण पुरानै तरिकाले हुनेछ।
नेप्सेले आगामी दिनमा प्रणालीको सुदृढीकरण र प्रविधिमा सुधार ल्याउने योजना बनाइरहेको जनाएको छ।


