काठमाडौं। जनता रिझाउन अघिल्लो सरकारले राखेका टुक्रे आयोजना कटौती गरिएको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना अघि नबढाउने निर्णय गरेको हो।
टुक्रे आयोजनाको संख्या १३ सय बढी रहेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिएका छन्। अर्थमन्त्री खनालका अनुसार आयोजना कटौतिबाट एक खर्ब १० अर्ब रुपैयाँ बचत हुनेछ।
चालू आर्थिक वर्षको बजेटमा आयोजना बैंकमा प्रविष्ट नगरेका एक हजार तीन सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित एक खर्ब १० अर्ब रुपैयाँ भेटिएको उनले जानकारी दिए।
त्यस्तै, चालू बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब १२ अर्ब रुपैयाँ निकाल्न सकिने उनले बताएका छन्।


