काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत रुरु जलविद्युत परियोजना लिमिटेडले जलविद्युत क्षेत्रमा आक्रामक लगानी गर्न थालेको छ। कम्पनीले कर्णाली नदीमा ५७० मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो।
हुम्ला कर्णाली–१ आयोजनाको जडित क्षमता २३५ मेगावाट रहेको छ। यस्तै हुम्ला कर्णाली–२ को जडित क्षमता ३३५ मेगावाट रहेको छ। दुवै आयोजना नदी प्रवाही (आरओआर) मा आधारित छन्। गुल्मीमा पाँच मेगावाटको हुग्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको रुरु जलविद्युत परियोजनाले ठूला जलविद्युत आयोजना विकास गर्न लागेको हो।
प्रस्तावित दुई आयोजनाबाट वार्षिक तीन अर्ब ३२ करोड ६२ लाख युनिट बिजुली उत्पादन गर्ने अध्ययनले देखाएको छ। जसअनुसार हुम्ला कर्णाली–१ बाट एक अर्ब ५३ करोड १४ लाख र हुम्ला कर्णाली–२ बाट एक अर्ब ७९ करोड ४७ लाख युनिट बिजुली उत्पादन हुने रुरु जलविद्युत परियोजनाले जनाएको छ। रुरुले दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)प्रतिवेदन तयार पारी राय सुझाव मागेको छ।
हुम्ला कर्णाली–१ आयोजना कर्णाली प्रदेशको हुम्लाको सर्केगाड र चंखेली गाउँपालिकामा भौतिक संरचनाहरू रहने र मुगुको सोरु गाउँपालिका क्षेत्रमा रहेको छ। प्राप्त प्रतिवेदनअनुसार आयोजनाको बाँध लगायतका शीर्ष संरचना, जलमार्ग, विद्युतगृह र पानी निकास मार्ग हुम्ला कर्णाली नदीको दाँया किनारमा हुम्लाको सर्केगाड गाउँपालिका १ र ४ मा प्रस्ताव गरिएको छ। नदीको बाँया किनारतर्फ सर्केगाड गउँपालिका ५, चंखेली गाउँपालिका ६ र मुगुको सोरु गाउँपालिका ४ र ५ क्षेत्रहरू पर्दछन्।
२२ मिटर अग्लो पानी फर्काउने बाँध, ४ वटा बालुवा थिग्राउने पोखरी संरचना बन्ने भएको छ। ८.८६ किलोमिटर लामो हेडरेस सुरुङ, विद्युतगृह, सर्जसाफ्ट र २७५ मिटर जल निकास मार्ग निर्माणको प्रस्ताव गरिएको छ। आयोजनाले नदीको अधिकतम १३०.५१ घनमिटर पानी उपयोग गरेर वार्षिक एक अर्ब ५३ करोड १५ लाख युनिट विद्युत उर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ।
आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रिडसम्म पुयाउन मुगु कर्णाली सबस्टेसनसम्म १० किलोमिटर लामो प्रसारण लाइन आवश्यक पर्नेछ। यस्तै प्रस्तावित हुम्ला कर्णाली–२ जलविद्युत आयोजना हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नंम्बर १, २ र ३ तथा सर्केगाड गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६ लाई प्रभावित पार्ने भएको छ।
सर्केगाड र खार्पुनाथ गाउँपालिकामा भौतिक संरचनाहरू रहने भएको छ।
आयोजनाको प्रस्तावित हेडवर्क्स र सोसँग सम्बन्धित संरचनाहरू इन्टेक पोर्टल, जलाशय, व्यवस्थापन स्थल तथा अडिट १, २, ३ र ४० स्वार्पूनाथ गाउँपालिका वार्ड नम्बर १ र ३ तथा विद्युतगृह, सर्ज साफ्ट, अडिट ५, पेनस्टक, टेलरेस, विद्युतगृहको शिविरस्थल संरचनाहरू सर्केगाड गाउँपालिकाको वार्ड नम्बर ४ र ६ मा प्रस्ताव गरिएको छ।
यस आयोजनाले ५४५ मिटर र ५४२ मिटर लम्बाइका दुईवटा नदीको डाइभर्सन सुरुङ ६२.५० मिटर उचाइको हेडवक्र्स बाँध, १.३२ किलोमिटर लम्बाइको सेटलिङ बेसिन, चारवटा इन्टेक, इन्भर्टेड डि आकारको १२.७० किलोमिटर लामो हेडरेस सुरुङ, एक सतही विद्युतगृह आदि निर्माण हुने भएको छ। आयोजनाले एक अर्ब ७९ करोड ४७ लाख युनिट विद्युत ऊर्जा उत्पादन गर्नेछ।
जसअनुसार सुक्खा याममा ६० करोड ९८ लाख र वर्षा याममा एक अर्ब १८ करोड ४८ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। यसअघि दुवै आयोजना चिनियाँ कम्पनीले सर्भे लाइसेन्स पाएको थियो। तर चिनियाँ कम्पनी पछि हटेपछि रुरुले दुवै आयोजना लिएको हो।
भौगोलिक विकटताका कारण आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ बढी लाग्ने अनुमान गरिएको छ।


