काठमाडौँ: दशैँको लागि भनेर भक्तपुरको महेश्वरी खेल मैदानमा राँगाको व्यापार सुरु भएको छ। हरेक वर्ष दशैँ विशेषका रुपमा राँगाको व्यापार हुने गरेको छ।
नेवार समुदायले राँगाको मासु अत्याधिक प्रयोग गर्ने भएकाले पनि दशैँको लागि भनेर विभिन्न जिल्लाबाट राँगा भक्तपुर भित्र्याएका हुन्। दशैँलाई लक्षित गर्दै भक्तपुरको महेश्वरी चौरमा दशैँको लागि भनेर सस्तो व्यापार मेला पनि लाग्ने गरेको छ। राँगा व्यापारी दीपक बुढाथोकीले रामेछाप मन्थलीबाट दशैँको लागि भनेर ३५ वटा राँगा ल्याएको बताए।
उनले ४० लाख लगानीमा ल्याएका राँगाहरु एउटाको ९० हजारदेखि एक लाख रुपैयाँभन्दा बढीमा बिक्री गर्ने गरेको भन्दै लगानी उठेर नाफा समेत हुने अपेक्षा गरेको बताए।
उनले भने, ‘रामेछाप मन्थलीबाट दोस्रो भक्तपुर दशैँ सस्तो व्यापार मेला २०८२ मा दशैँको बेला राँगा बेच्न आएको हुँ। ३५ वटा जति राँगा ल्याएको छु। हरेक दशैँमा राँगाहरू लिएर आउँछु। एउटा राँगाको ९० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री हुन्छ। यहाँ व्यापार सुरु भइसकेको छ। ४० लाख लगानीमा राँगाहरु ल्याएको हुँ लगानी सबै उठाउने अपेक्षा छ। अघिल्लो वर्षहरुमा पनि नाफामा नै व्यापार गरेको हो।’


