काठमाडौँ: वायुसेवा कम्पनीहरूले काठमाडौँ उपत्यकामा बाढी पहिरोले अप्ठ्यारोमा परेकाहरूको नि:शुल्क उद्धार गर्ने भएका छन्। वायुसेवा संचालक संघ, नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै काठमाडौं उपत्यकामा बाढी प्रभावितको निशुल्क उद्धारगर्ने जानकारी दिएको हो।
शनिबार संघका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीहरूले हेलिकप्टरलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताइएको छ।
‘हाल देशका अधिकांश स्थानहरुमा अत्याधिक रुपमा वर्षा भइरहेको र वर्षात्का कारण देशका विभिन्न भू-भागहरुमा बाढीपहिरो जस्ता विपदजन्य अवस्थामा परेका आम नागरिकको उद्धार कार्यको लागि संघमा आवद्ध हेलिकप्टर कम्पनीहरु तयारी अवस्थामा रहेका व्यहोरा जानकारी गराउँदछौं, समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने व्यहोरा समेत यसै पत्रद्वारा मार्फत जानकारी गर्दछौँ,’ संघले भनेको छ।
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत अवरुद्ध हुनुका साथै नदी किनारका बस्तीहरू बाढी पहिरोको जोखिममा रहेका छन्।
प्रकाशित: २०८२ असोज १८ गते शनिवार ०८:५९