काठमाडौँ: देशका विभिन्न स्थानहरूमा असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति भएको भन्दै नेपाल ट्रेड युनियन काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ।
ट्रेड युनियन काँग्रेसका महासचिव अजय कुमार राईद्वारा जारी विज्ञप्तिमा मानवीय क्षतिसँगै देशका पूर्वाधारहरूमा ठूलो क्षति भएको जनाइएको छ। धेरैले ज्यान गुमाएका छन् भने कैयौं नागरिक बेपत्ता र बासविहीन भई विस्थापित भएका छन्। साथै, घाइतेहरूको संख्या पनि उल्लेख्य रहेको छ।
वर्षाले देशका प्रमुख सडक मार्गहरू अवरुद्ध भएको र आन्तरिक हवाई सेवा समेत असोज १८ गतेदेखि पूर्ण रूपमा बन्द हुनु परेको विज्ञप्तिमा उल्लेख छ। केही अन्तर्राष्ट्रिय उडानहरू पनि रद्द भएका छन्।
नेपाल ट्रेड युनियन काँग्रेसले यस्तो विपत्तिबाट विशेष गरी गरिखाने श्रमिक वर्ग बढी प्रभावित भएको भन्दै उनीहरूको रोजगारीमा तत्काल र दीर्घकालीन असर पर्न सक्ने चेतावनी दिएको छ। त्यसैले श्रमिक वर्गप्रति विशेष ध्यान दिन र रोजगारी संरक्षणमा आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।
महासंघले विपद् व्यवस्थापनमा नेपाल सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै अझै पनि निरन्तर वर्षाको सम्भावना रहेको सरकारी सूचना हवाला दिंदै जीवनरक्षा, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारहरूको ध्यानाकर्षण गराएको छ।
विपद् प्रभावितहरूको उद्धार, खोजी कार्य, राहत वितरण, अस्थायी बासको व्यवस्था तथा घाइतेहरूको प्रभावकारी निशुल्क उपचार सुनिश्चित गर्न महासंघले सरकारसँग जोडदार माग पनि गरेको छ।
महासंघले आफ्ना मातहतका सम्पूर्ण संरचनाहरूलाई सरकारी तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा संरक्षणका लागि अग्रपंक्तिमा खटिन समेत आह्वान गरेको छ।
महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।


