काठमाडौँ: अर्बपति विनोद चौधरी नेतृत्वको चौधरी ग्रुपले जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएका हुन्।
शहीद परिवारका सदस्यलाई रोजगारी दिने आफूहरूको वाचा मात्रै नभइ गहिरो कर्तव्य र श्रद्धा भएको उनले बताएका छन्। जेनजी शहीदहरूप्रति समवेदना प्रकट गर्दै उनले चौधरी ग्रुपले सम्पूर्ण शहीद परवारलाई सम्पर्क गरिरहेको जानकारी दिएका छन्। सम्पर्क हुन नभएका परिवारलाई उनले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्यालको ९८५१२२४००० नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।
आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडता दिएको बताउँदै उनले सँगै उभिएर पुनर्निर्माण गर्ने अपेक्षा व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।’


