काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ निर्माण कम्पनी कालोसूचीमा राखेको छ। कार्यालयले बिहीबार एक सूचना जारी गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
कालोसूचीमा राखिएका ती कम्पनीहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
विभिन्न बैंक, सडक डिभिजन, आयोजना र पालिकाले ती कम्पनीहरूलाई कालोसूचीमा राख्न कार्यालयलाई पत्र पठाएका थिए। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम बुधबार ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णयसहित बिहीबार सूचना प्रकाशित गरिएको हो।


