काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पाँच निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको छ। निर्देशनालयले लामो समयदेखि सम्झौता बमोजिम कार्य प्रगति नगरेका, संशोधित कार्यतालिका अनुसार काम अघि नबढाएका र त्रुटिपूर्ण कार्य नसच्याएका पप्पु-महादेव जेभीसहित पाँच निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भन्दै सोधेको हो।
निर्देशनालयले कन्काई पुल (झापा) को डिजाइन तथा निर्माण कार्यको ठेक्का पाएको पप्पु-महादेव जेभी, मेचीदेखि राजगढ (०+००० देखि २०+३००) सम्म नाली र क्रस ड्रेनेज संरचना निर्माणको ठेक्का पाएको खाम्पाचे शेर्पा निर्माण सेवा, मधेस राजमार्ग ट्राफिक चौक–बनैनिया सडक (सप्तरी) मा पश्चिमी कोशी नहरमाथि ५५.९ मि. लम्बाइको स्टिल ट्रस पुल निर्माणको ठेक्का पाएको लामा/बाम्टी जेभी, कठौनाबाट फतेपुर (सन्यासी चौक) हुँदै कटिया सडक (सप्तरी) उन्नतिकरण, चेनिज ०+००० देखि १८+००० सम्म ठेक्का पाएको कान्छाराम/बाम्टी/देव एन्ड शयर जेभी र कञ्चनपुर–राजविराज हुलाकी सडक अन्तर्गत कलिया खोला–१ (२५ मि. स्पान) आरसीसी पुल निर्माण ठेक्का पाएको लामा/बाम्टी जेभीलाई १५ दिने स्पष्टीकरण सोधेको हो।
ती निर्माण कम्पनी र हुलाकी राजमार्ग निर्देशनालयबिच सम्झौता भए पनि लामो समयदेखि सम्झौता बमोजिम कार्य प्रगति नगरेको र कार्य सम्पन्न गर्नतर्फ तदारुकता नदेखाएकोमा कार्यालयबाट पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा समेत लामो समयदेखि निर्माण कार्य ठप्प रहेको, त्रुटिपूर्ण कार्यहरु नसच्याएको तथा संशोधित कार्यतालिका बमोजिम काम अगाडि नबढाइ कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाएको सूचनामा भनिएको छ।
सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का अन्त्य गर्नु नपर्ने कुनै मनासिव कारण भए १५ दिनभित्र आधिकारिक व्यक्ति उपस्थित भई आधार पेस गर्न सूचना भनिएको छ। चित्त बुझ्दो स्पष्टिकरण र कार्य सम्पन्न गर्ने विश्वसनीय आधार पेस नभएमा ठेक्का सम्झौता शर्त तथा प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गर्ने सूचनामार्फत् जानकारी गराइएको छ।


