काठमाडौं। व्यवसायिक घरना साँग्रिला हस्पिटालिटी ग्रुपले चितवनको मेघौलीमा लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको छ। सांग्रिलाले लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा निर्माण गरिरहेको छ। ४० कोठा भएको रिसोर्टको आउँदो डिसेम्बर(मंसिर–पुस) सम्म सञ्चालनमा ल्याउने तयारी छ।
निर्माणका क्रममा रिसोर्टको लागत ४९ प्रतिशत बढेर एक अर्ब ९२ करोड ६० लाख रुपैयाँ पुगेको छ। यसअघि रिसोर्टको अनुमानित लागत एक अर्ब २९ करोड ६० लाख रुपैयाँ थियो।
पछि लागत ६३ करोड १० लाख रुपैयाँ बढेको कम्पनीले रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। होटलको प्रति कोठा लागत पाँच करोड १० लाख रुपैयाँ पुगेको छ। यसअघि साढे तीन करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
रिसोर्टको २८ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) र बाँकी ७२ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ। रिसोर्टले ९३ करोड ७० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। ५६ प्रतिशत स्पुँजी लगानी भइसकेको छ।
हालसम्म ५५ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ। रिसोर्टको सिभिल काम सकिएको छ भने मेकानिकल, इलेक्ट्रिक र प्लम्बिङको काम अन्तिम चरणमा पुगेको रिसोर्टले जनाएको छ।
रिसोर्ट व्यवस्थापनको जिम्मेवारी इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) ले पाएको छ। रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जमा रहेकाले दीर्घकालीन रूपमा व्यवसायको माग सम्भावनाको लागि राम्रो संकेत दिन सक्छ।
२०२२ डिसेम्बरमा होटल व्यवस्थापनका लागि लस्ट होराइजन र आइएचजीबीच सम्झौता भएको थियो। सम्झौताअनुसार रिसोर्ट इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली ब्राण्डमा सञ्चालन हुने भएको छ।
इन्टरकन्टिनेन्टल होटल्स ग्रुप प्रमुख युरोपेली होटल समूहहरुको होटल व्यवस्थापन सम्झौतामार्फत रिसोर्टलाई साझेदारी गर्न सक्षम पार्दै आइएचजीको ब्रान्ड नाम स्थापित छ। फ्रेंचाइजीले रिसोर्टको व्यवसाय विस्तारमा सहयोग पुर्याउने छ।
लस्ट होराइजनको सञ्चालक प्रसिद्धबहादुर पाण्डे रहेका छन । रिसोर्ट ४० कोठाको हुनेछ। जसमध्ये दुई स्वीट रुम हुने लस्ट होराइजनले जनाएको छ।
रिसोर्ट राप्ती खोलाको किनारमा रहेको छ । पहिला ४० कोठा डिजाइन गरिएको छ।
यता साँग्रिलाले पोखरामा रहेको होटल साँग्रिला भिलेजको स्तरोन्नती गरिरहेको छ। पहिला चारतारे होटल रहेकोमा लगानी थपेर पाँचतारे बनाइरहेको छ। कम्पनीले २०२३ जुलाइबाट होटलको पुनर्निमाण र रिसोभेसनको काम सुरु गरेको हो।
सांग्रिलाले होटलको पुनर्निमाण र रिनोभेनस गरेर पाँचतारे बनाउन १ अर्ब १९ करोड २० लाख रुपैयाँ लगानी गरेको छ। होटलमा बैंकको ८० प्रतिशत ऋण र बाँकी २० प्रतिशत ग्रुपका संस्थापकको स्वपुँजी लगानी भएको छ।
चारतारे रिसोर्ट साँग्रिलाको ६१ वटा कोठाहरु रहेकोमा पुनर्निमाण र रिनोभेसनपछि १ सय कोठा बन्ने छ।
सन् १९९३ मा स्थापना भएको होटल साँग्रिला भिलेज १९९६ देखि सञ्चालनमा आएको हो। होटल क्यासिनोसहित पाँचतारे हुने भएको छ।
साँग्रिला भिलेजनको व्यवस्थापन युरोपेली चेन होटल आइएचजीले सम्हाल्ने सम्झौता भएको छ। साँग्रिलालाई इन्टरकन्टिनेन्टलले होटल इन्डिगो ब्राण्डमा चलाउने छ। फ्रेंचाइजीले होटलको व्यवसाय विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सन २०२० सम्म चारतारे होटल साँग्रिला भिलेज सञ्चालनमा थियो। २०२० मा होटलले ८ करोड २० लाख, २०१९ मा १३ करोड, २०१८ १२ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो ।
ग्रुपले राजधानीको लाजिम्पाटमा सन् १९७९ देखि २०१९ सम्म पाँचतारे साँग्रिला होटल सञ्चालन गरेको थियो। लाजिम्पाटमा रहेको साँग्रिला होटलको पनि अहिले पुनर्निमाण भइरहेको छ।


