काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ। गत मंगलबार प्रतिऔंस मूल्य ६.३ प्रतिशतले घटेर ४,०८२ अमेरिकी डलरमा पुगेको गोल्डप्राइस डटकमले उल्लेख गरेका छन्। यो सन् २०१३ अप्रिलयताकै एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो।
सोमबारसम्म प्रतिऔंस ४,३८१ डलरसम्म पुगेको सुनको मूल्य मंगलबार अकस्मात् झरेको हो। त्यसपछि पनि बजारमा निरन्तर उतारचढाव देखिएको छ। बुधबार बजार बन्द हुँदा प्रतिऔंस ४,०९७ डलरमा पुगेको सुन बिहीबार ४,०२६ डलर र शुक्रबार ४,०५६ डलरमा कारोबार भएको गोल्डप्राइस डटकमको तथ्यांकले देखाउँछन्।
सुनको मूल्यमा आएको यस्तो तीव्र गिरावट पछिल्लो समय अमेरिकी डलरको कमजोर स्थिति, सरकारी ऋण वृद्धि, र लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुन रोज्दै आएको प्रवृत्तिसँग सम्बन्धित मानिएको छ। डोनाल्ड ट्रम्पको व्यापार नीतिहरू र विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन भण्डारण गर्न थालेको कारणले अघिल्ला हप्तासम्म मूल्य निरन्तर बढ्दै गएको थियो।
नेपालमा पछिल्लो समय गत कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ तोकिएको थियो। त्यसयता सार्वजनिक बिदा परेकाले मूल्य अद्यावधिक भएको छैन भने आइतबार नयाँ मूल्य तोकिने छ।
विश्वबजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव नेपालमा पनि देखिनेछ। नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाअध्यक्ष धर्म सुन्दर बज्राचार्यले आइतबार विश्व बजारको प्रभावले नेपालमा सुनको मूल्यमा घट्न सक्ने बताएका छन्। बजार विश्लेषकहरूले सुनको मूल्यमा भारी गिरावट आउन सक्ने बताएका छन्।







