काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा दोस्रो दिन प्रदर्शनकारीको निशानामा परेको होटल हायात अनिश्चित कालका लागि पूर्णरूपमा बन्द भएको छ। आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीजस्ता क्रियाकलापले होटल संरचनामा क्षति पुगेको थियो।
जसकारण होटल तत्काल सञ्चालन गर्न सकिने अवस्थामा नरहेको होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनले जारी गरेको सूचनामा भनिएको छ। यसको मर्मत तथा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नुपर्ने अपरिहार्य देखिएकाले मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाइ मध्येनजर गर्दै होटलबाट प्रवाह हुँदै आएको व्यवसायिक सेवा लगायत सम्पूर्ण होटल नै पुर्ण रुपमा बन्द रहेको सूचनामा भनिएको छ।
यस्तै होटललले कर्मचारीहरूलाई पनि बिदामा राखेको छ। प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनसँग छलफल भइ प्रतिष्ठानमा कार्यरत सम्पुर्ण श्रमिकहरूलाई अर्को सुचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटल परिसरमा उपस्थित नहुन भनिएको छ।



