काठमाडौं। नेपाल विद्युत प्राधिकरणले प्रस्तावित ६७० मेगावाट क्षमताको दूधकोसी जलासय जलविद्युत आयोजना बनाउन सरकारसँग इजाजत (लाइसेन्स) मागेको छ।
प्राधिकरणले लाइसेन्सका लागि दरखास्त दिएपछि विद्युत विकास विभागले प्रक्रिया अघि बढाएको छ। विभागले आउँदो ३५ दिनपछि प्राधिकरणलाई आयोजनाको लाइसेन्स दिनेछ।
सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट आयोजना अघि बढाउने उल्लेख गरेको छ। जलासय आयोजनाको अनुमानित लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ६५ अर्ब रुपैयाँ) रहेको छ। निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल लागत २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। आयोजना आगामी आठ वर्ष अर्थात २०९० को असारदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ।
आयोजना खोटाङ्गको रावाबेसी, ऐसेलुखर्क, हलेसी तुवाचुङ्ग नगरपालिका, ओखलढुङ्गाको चिसंखुगढी र सोलुखुम्बुको थुलुङ दूधकोशी, नेचासल्यान गाउँपालिकाहरूमा अवस्थित दुधकोशी नदीको पानीको उपयोग गरी बिजुली उत्पादनको लक्ष्य रहेको छ।
नदीको दुबै किनारातर्फ आयोजनाका संरचनाहरू रहने गरी एउटै जलाशयमा आधारित २ वटा विद्युतगृह रहने गरी ६७० मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त बनाउने तयारी भएको छ।
जलविद्युत आयोजना सुनकोसी बैकुखोला विद्युतगृह ६०० र ड्याम टो विद्युतगृहबाट ७० गरी कूल ६७० मेगावाट बिजुली उत्पादन गर्ने प्राधिकरणले जनाएको छ।
एसियाली विकास बैंक(एडीबी) को सहयोगमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) तयार भइसकेको छ।
तथा वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार भइसकेको छ।
आयोजनामा अगुवा बैंकको रुपमा लगानी गर्न एडीबीले सैदान्तिक सहमति जनाएको छ। यस्तै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) का साथै अन्य बैंक तथा वित्तीय संस्थासँग छलफल चलिरहेको छ।
आयोजनाको डिजाइन बहाव ६०० मेगावाटका लागि २२४.४ घन मिटर प्रति सेकेण्ड र कुल हेड ३३५ मिटर रहने भएको छ।
बाँधको नजिकै बन्ने ७० मेगावाटको ड्याम टो विद्युतगृहका लागि ४० घन मिटर प्रति सेकेण्ड र कुल हेड २१० मिटर हुने प्राधिकरणलले जनाएको छ।
आयोजनाबाट वार्षिक तीन अर्ब ३७ करोड सात लाख युनिट विद्युतीय ऊर्जा उत्पादन हुनेछ। एउटै जलाशयमा आधारित २ वटा विद्युतगृह रहने भएको छ।
आयोजनाका मुख्य संरचनाहरू ६०० मेगावाटको विद्युतगृहका लागि दुधकोसी नदीको बाँया तथा ७० मेगावाटको विद्युतगृहका लागि दुधकोसी नदीको दाँया किनारामा पर्छ।
दुधकोसी नदीमा बाँध बाँधी आयोजनाको ६०० मेगावाटका लागि नदीको बाँयापट्टि निर्माण हुने इनटेकबाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचानाहरू हेडरेस टनेल, सर्जसाफ्ट र पेनस्टक पाइप हुँदै भूमिगत विद्युतगृहमा लगिने भएको छ। तत्पश्चात टेलरेस टनेलमार्फत पानीलाई बैकुखोलामा खसाली सुनकोसीमा पठाइनेछ।
७० मेगावाटका लागि नदीको दाँयापट्टि निर्माण हुने इनटेकबाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचानाहरू हुँदै भूमिगत विद्युतगृहमा लगिनेछ। विद्युत उत्पादन भएपछि पानीलाई पुनः दुधकोसी नदीमा पठाइने भएको छ।
विद्युत उत्पादनका लागि खोलाको पानी फर्काउन ६३० मिटर लम्बाई तथा २२० मिटर अग्लो रकफिल बाँधको निर्माण हुने भएको छ। उक्त बाँधको निर्माणबाट करिब ३१.५ किलोमिटर लामो र करिब १९.७ वर्ग किलोमिटर क्षेत्रफलमा कृत्रिम जलाशय (ताल) बन्नेछ। उक्त जलाशयमा १५८.१ करोड घन मिटर पानी सञ्चय हुनेछ।
उत्पादित विद्युत ऊर्जालाई ४०० केभी डबल सर्किट विद्युत प्रसारण लाइनबाट धनुषाको ढल्केबर सबस्टेसनमा जोडिने भएको छ। प्रसारण लाइनमा मुज कन्डक्टर प्रयोग गरिनेछ भने प्रत्येक फेजमा क्वाड बन्डल रहनेछ। धितुङस्थित मुख्य विद्युतगृह सँगैको प्रसारण लाइनको लम्बाइ ८२ किलोमिटर हुनेछ।
यस्तै आयोजनाको ७० मेगावाटको ड्याम टो विद्युतगृहको स्विचयार्डदेखि प्रस्तावित अरुण हब सितलपाटीमा रहेको तिङ्गला दूधकोसी ४०० केभी प्रसारण लाइन आयोजनाको भदौरेसि भदौरे स्विचिङ स्टेसन सम्मको १.६ किलोमिटर लम्बाइको प्रसारण लाइन निर्माण गरिने भएको छ।
आयोजनाका लागि २५ हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ।
जापान सरकारको सहयोगमा कोसी बेशिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ सालमा दूधकोसी जलासय पहिचान भएको हो।


