काठमाडौँ- नेपाल मैदा उद्योग संघमा कुमुदकुमार दुगड निर्विरोध चयन भएका छन्। जेठ २१ गते, आइतबार नक्सालस्थित काठमाडौँ मेरियट होटलमा सम्पन्न संघको २३औं वार्षिक साधारणसभाले दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो।
संघको प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयन्का, तृतीय उपाध्यक्षमा विकास बेगवानी चयन भएका छन्। यस्तै महासचिवमा राधेश्याम अग्रवाल, सचिवमा आनन्द ओझा, धिरज गोल्छा, सञ्जय अग्रवाल, कोषाध्यक्षमा विनोद कुमार अग्रवाल चयन भए।
सभाले मैदा उद्योगलाई भ कृषि उद्योगमा राखि सुविधा दिन माग गरेको छ। यस्तै गहुँको उत्पादन बढाउन दिर्घकालीन नीति तर्जुमा गर्न त्रिपक्षीय साझेदारी गर्नेसमेत भएको उल्लेख गरेको छ। कालान्तरमा गहुँ र मैदा आयात गर्नुपर्ने बाध्यकारी परिस्थितिलाई सहज बनाउने विश्वास संघको छ।
बैंकको ब्याज एकल बिन्दुमा कायम गर्नसमेत सभाको माग छ। गहुं आयात गर्दा भन्सार दर १५ प्रतिशत हुनपर्ने उसको माग छ। मैदा उद्योगको बिमा प्रिमियम परिमार्जन गर्न पनि आवश्यक रहेको उसको भनाइ छ।
१७ अर्ब लगानी रहेको मैदा उद्योगले प्रत्यक्ष रुपमा ४ हजार रोजगारी दिएको र किसान परिवालाई पनि फाइदा पुर्याएकाले मैदा उद्योगलाई संरक्षण गर्नुपर्ने संघको भनाइ छ।


