काठमाडौँ: पूर्ण लेखापरीक्षण (फुल अडिट) का नाममा कर कार्यालयका कर्मचारीहरुले व्यवसायीलाई त्रसित बनाउने काम तत्कालका लागि रोकिएको छ। फुल अडिटका नाममा कर कार्यालयका कर्मचारीले कम्पनीको अस्वभाविक कर दायित्व देखाएर सौदाबाजी (बार्गेनिङ) गरेर कमाउधन्धा बनाउँदै आएका थिए।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालको निर्देशनमा उक्त अडिट अहिलेलाई रोकिएको छ। व्यवसायीमाझ फुलअडिटका नाममा कर कार्यालयका कर्मचारीले देखाउने त्रास तत्कालका लागि हटेको एक व्यवसायीले बताए। हालको लगानीको अवस्थालाई हेरेर व्यवसायमा हुने फुल अडिटलाई स्थगन गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले बताए।
उनले बैंक तथा वित्तीय संस्था र बहुर्राष्ट्रिय कम्पनीको फुल अडिट नरोकिएको जानकारी दिए। नेपाली ठूला तथा मध्यम करदाताको भने रोकिएको जानकारी दिए। यद्यपि शंकास्पद कारोबार (रिस्कबेस्ड) को अडिट भने नरोकिएको महानिर्देशक दाहालले स्पष्ट पारेका छन्। फुल अडिटको नाममा करका कर्मचारीबाट दुःख पाएका व्यवसायीलाई भने केही राहत मिलेको छ। सरकारले यो व्यवस्था खारेज नगरेकाले फेरी कार्यन्वयनमा आउने छ।
फुल अडिटका नाममा करका कर्मचारीले कर दायित्व देखाएर बार्गेनिङ गर्दै आएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन्। उदाहरणका रुपमा कुनै उद्योग वा कम्पनीको फुल अडिट गरेर करका कर्मचारीले एक करोड रुपैयाँ दायित्व देखाएको छ। कर्मचारीले व्यवसायीसँगको मिलेमतोमा २५ लाख कर्मचारीले घुस लिने र बाँकी २५ लाख सरकारलाई कर दाखिला गराउने गर्छन्। बाँकी ५० लाख रुपैयाँ व्यवसायीलाई छुट दिनेसम्म गरेको पाइएको छ।
केही समयअघि केही व्यवसायीले फुल अडिटको यति पैसा दिने भए मिलाउँला नत्र पूरै कर तिर्न तयार हुनुस् भनेर कर्मचारीले धम्काएको एक व्यवसायीले बताएका थिए। पछि करका कर्मचारीलाई घुस दिएपछि कम्पनीको कर दायित्व फारफूक भएको थियो।
केही महिनाअघि एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले नेपाल क्लिक्ससँग कुरा गर्दै भनेका थिए, ‘कर दायित्व भुक्तानी भइरहँदा पनि फुल अडिटमा आएका करका कर्मचारीले लाखौं रुपैयाँ दायित्व देखाएर दुःख दिने गरेका छन्। पब्लिक कम्पनी भएकाले हामीले कर्मचारीलाई घुस खुवाउन मिल्दैन उनीहरुले निर्धारण गरेको कर कार्यालयमा गएर भुक्तानी गरेको बताएका थिए। कर ऐनले करदातालाई नै पहिलो कर अधिकृत मानेर कर निर्धारण गर्न दिएको छ।’
स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको कर प्रणाली झन्झटिलो लगानीमैत्री नभएको गुनासो गर्दै आएका छन्। कुनै पनि विदेशी लगानीकर्ताले कर प्रणालीलाई हेरेर मात्र लगानी गर्छ। नेपालको कर प्रणालीमा धेरै छिद्र बनाइएको छ। जसका कारण करका कर्मचारीहरुले दुःख दिने गरेको गुनासो व्यवसायीबाट आइरहेको छ।


