२०८३ कार्तिक ११ गते मङ्गलबार

लय गुमेपछिको प्रलय

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, कार्तिक २३
krishna_rimal

यो आलेख दुई फरक उमेर समूहमा बाँडेर लेख्दै छु।

बुवा पुस्ता र नाति पुस्ताका बिचको उमेरको यो देशभित्र बाँचेकोमध्ये सबैभन्दा अभागी तर इतिहासको साक्षी बस्न परेको पुस्ताको आँखाले जे देख्यो, त्यसैलाई जस्ताको तस्तै लेखेको छु।

सुरुमा लेखूँ ठानेको थिएँ, बुवापुस्ता पापी पुस्ता हो। तर यसो विचार गर्दा मन बदलियो। जसले बिना विज्ञान र प्रविधि पानीढलो, जग्गामा कुलो र नहर निर्माण गरेर बन्जर जमिनलाई उर्वर पारे, र अन्न फलाए। जसले अनकन्टार पहाडका कुनाकन्दराका मूलहरूलाई उत्खनन गरेर हिउँदका दिनमा कुटोकोदालीको सहायताले पाइप छोपेर बस्तीसम्म पानी ल्याए। जसले गुरुकुलभित्र सीमित ज्ञानलाई विद्यालय स्थापना गरेर चार दिशा फैलाए, त्यो पुस्तालाई पापी भने संसारभरको पाप मलाई लाग्छ। त्यसैले बुवा पुस्तालाई दुःखी पुस्ता भन्न चाहेँ।

अर्को, आफैं बाँचे–हुर्केको घर कसरी चलेको छ थाहा नपाउने तर मोबाइलमा नेट नचल्दा बाँच्नै नसक्ने, आफ्नै वडा, गाउँ, छिमेक र शहरका बस्ती र फाँटहरू नचिनेका तर विश्व चिनेका, रातभरि जाग्ने र मध्यदिनमा उठ्ने, खाना तयार गर्न भन्दा तयारी खाना खान रुचाउने, विधि नजानेका तर प्रविधि जानेका, आफू बाहेकलाई ‘छि:छि:’ भन्ने भाइबहिनीको समूह वा पुस्ता अर्थात् प्रविधिको पुस्तालाई मैले ‘अल्छी पुस्ता’ भनेको छु।

यो आलेखमा दुःखी पुस्ताले कहाँनेर लय बिगार्दा अल्छी पुस्ताले किन प्रलय सृजना गर्‍यो भन्ने समीक्षा गर्न चाहन्छु।

समाजमा आर्थिक उन्नतिलाई मापन गर्न विवाहका लागि वर पक्षमा खोजिने आधारहरूबाट यसरी समीक्षा गर्न सकिन्छ, हजुरआमा भन्नुहुन्थ्यो — ‘मेरा बा हिउँदमा आएर तेरा हजुरबाको टौवा हेरे, गोठमा लैना बर्केना दुईटा भैंसी र हल गोरु देखेपछि मलाई दिए। पछि थाहा पाएँ, त्यो टौवा, ती हल गोरु अधियाँको उपज रहेछन्। म त्यतिखेर हाँसेकी थिएँ।’ अर्थात् कृषि उपजको उपलब्धता एकताकाको समाजको आर्थिक सम्पन्नता थियो। आमाहरूको पालामा सरकारी जागिर थियो, दिदीहरूको पालामा स्नातकोत्तर गरेको भए हुन्थ्यो, तर अब बहिनी या छोरीहरूको पालाको लागि कुनै उन्नत देशको स्थायी आवासीय पत्रधारी हुनु आवश्यक भएको छ। यसरी समाजले समय–समयमा निर्धारण गरेका आर्थिक सम्पन्नताका आधारअनुरूपका आर्थिक क्रियाकलापहरू सम्पन्न गर्न समाजले आफ्नो ऊर्जा खर्चियो।

दुःखी पुस्ताका बुवाहरू कडा मेहनत, उच्च नैतिक आचरण र अनुशासित जीवनशैलीसँगै हुर्किँदै गर्दा बुवा पुस्ताकै केही पात्रहरूले समाजको लयलाई विस्तारै बिगार्दै लगे। समाज उत्पादन वा आधारसहितको आत्मनिर्भरता वा स्वाभिमानभन्दा सजिलो र बिना मेहनतको जोहोतिर गयो। मैले स्कुल पढ्दाताका अनुभव गरेको कुरा के हो भने, बहुदल स्थापनापछि समाज एउटा नचाहिँदो खालको आत्मविश्वासमा फस्यो। स्वतन्त्रताको, बिना शर्त वा बिना सीमा स्वतन्त्र प्रयोग हुन थाल्यो। सार्वजनिक चोक र चोकहरूमा बहस हुनुपर्ने राजनीति परिवार, घर र व्यक्ति–व्यक्तिमा घुस्यो।

म सम्झन्छु, एकताका समाजमा राजनीति यति विद्धन्धिन लाग्दो तवरले छिरेको थियो — सामाजिक जीवनका बिहेबारी, भत्केरु, अर्मपर्म जस्ता कुराहरूमा पनि समान राजनीतिक धारणा, लगाव र आस्था खोजियो। राजनीतिक दलहरूले आफ्नो वर्चस्वको लागि स्थापना गरेका भातृसंगठनहरू नै सामाजिक बिग्रहमा लागे। राजनीतिक आस्थाकै आधारमा विभिन्न क्षेत्रमा लाभका नियुक्तिहरूको लेनदेन सुरु भयो। त्यतिबेला राजनीतिक आस्थाका आधारमा नियुक्ति लिएका शिक्षकहरूले आज देशको शिक्षालाई कस्तो बनाएका छन्, देख्नुभएकै होला। अहिलेका केही जेन–जेडहरू तिनै राजनीतिक नियुक्तीका शिक्षकद्वारा शिक्षा प्राप्त गरेका केटाकेटी हुन्। बिना योग्यताका नियुक्ति भएर नै त होला आज देशको कुनै पनि क्षेत्र आफ्नो भरोसायोग्य नेतृत्व लिएर उभिन सकेको छैन। १५–२० जना योग्य मान्छे भेटिन नसक्नेगरी मुलुकलाई कस्तो भड्खालोमा हाल्नुभयो रहेछ, मेसो पाउँदै हुनुहुन्छ होला।

बिना योग्यता, साधारण लाभका लागि आफ्नो विवेक बन्धक राखी राजनीतिक दलको स्थायी भोट बैंक बन्नुभयो। यही भोट र बहुमतको कानुनी आधारमा टेकेर राजनीतिक दलको उच्च नेतृत्वले देशको ढुकुडी, राजस्व र देशभित्रका प्राकृतिक स्रोतहरूमा ताण्डव नृत्य गरे। आफ्नो नैतिक आधारलाई पार्टीका विभिन्न शीर्षकका सदस्यता पत्रमा दागबत्ती दिनुभयो। प्रत्येक चुनावमा चुपचाप उस्तै–उस्तै मतदान गरेर मौन स्वीकृति मार्फत कानुनी बाटो खुला गरिदिनुभयो। स्थानीय ठेक्का, जलविद्युत, निर्माण सेवा, बैंकिङ, पर्यटन तथा विकासका पूर्वाधार निर्माणका सन्दर्भमा काम गर्नेभन्दा गरे जस्तो गरी आर्थिक अनुशासन तोडिँदा एवं विभिन्न अनुमतिपत्र मार्फत भएका ठूला धनराशीका भ्रष्टाचारहरूको साधारण लाभ तपाईं सम्म आइपुग्दा त्यसमा मौन समर्थन गर्नुभयो।

तपाईंहरूले स्वीकृत गरेका तिनै तीता र अप्रिय कुराहरूले नै आज यो प्रलय ल्यायो। आर्थिक उन्नतिलाई वैध–अवैधको नजरले हेर्नुभएन; जसरी हुन्छ आर्जन गर्नु मात्रै ठूलो कुरा हो भन्ने मानक स्थापना गर्नुभयो। नोटको जस्तै धनको पनि रंग हुन्छ भन्ने बुझेको भए आज हामी ग्रे जोनमा हुने थिएनौं। विवाहबाह्य सम्बन्ध र भ्रष्टाचारलाई मान्छेको अतिरिक्त क्षमता झैं गरी सामाजिक स्वीकृति दिनुभयो — यसले समाजका मौलिक चरित्रहरू ध्वस्त भए।

यसमानेमा आमाहरू खासै दोषी हुनुहुन्न। वंशीय शाख, कुल–परम्परा, सामाजिक जिम्मेवारी, पारिवारिक विरासत, जीवनयापनका दैनिक कामहरूका चापमा परेका आमाहरू त्यतिबेलाका सासु–ससुराको कडा बुर्हातन र लोग्ने–निर्देशित निरस अनुशासनमा बाँचे। तर अहिले आफ्नै छोरासँगै बुहारीको पनि आमा बनेका छन्। सामाजिक व्यवहार र आवश्यक चलनका लागि सासु–बुहारीको कडा मिजास पनि अभ्यास गर्न पाएका छैनन्।

हाम्रो अभागी पुस्ताले तपाईंहरूजस्तै मौन स्वीकृति दिने कि विद्रोह गर्ने भन्ने तय गर्न सकेका थिएनौं। खुरुखुरु पढ्ने, पाए सानोतिनो जागीर गर्ने, नपाए परदेश पलायन हुने अलिखित शर्तमा हामी पिल्सिएका थियौं। तर भाइबहिनीले यो स्वीकारेनन् — आगो बाले। केही प्रशासनिक महत्वका भवनको मुस्लोमा बाहेक समाजले जल्दै गरेका व्यक्तिगत तथा राजनीतिक संरचनामा बल्दै गरेको आगोमा आगोका फूल देख्यो। तपाईंहरूले राजनीतिक दलको वितण्डालाई दिएको मौन स्वीकृतिजस्तै यो अग्नि–विद्रोहलाई समाजले मौन स्वीकृति दियो। कुण्ठित आक्रोश, सम्बोधन नभएको पीडा, तपाईंहरूको पुस्ताले नाचेको कुशासन र भ्रष्टाचारको नाङ्गो नाचमाथि सायद बाध्यात्मक प्रतिरोध यस्तै नै हुन्थ्यो होला। हिंसा स्वीकारेकोमा क्षमाप्रार्थी छु।

अघिल्लो पुस्ताका आदरणीय बुवाहरू तथा पछिल्लो पुस्ताका प्रिय भाइबहिनीहरू — अब हामी प्रायश्चित र संकल्प एकैपटक गर्ने मोडमा आइपुगेका छौं। कर्मकाण्डमा यस्तो अभ्यास गरिँदैन। सधैंजस्तै हुर्कौंला भन्ने उमेरको ऊर्जा यो देशका खोलाहरूमा बगेको पानीझैं सधैँ अरूको देश सिंगार्न खर्च नगरौँ। आशा र सम्भावनालाई सत्कर्म र मेहनतद्वारा उपलब्धिमा पुर्याउने बाटो तय गरौँ। लय गुमेको समाजमा भएको यो प्रलयलाई अब फेरि लयमा फर्काऔँ। तपाईं–हाम्रो पोल्टामा परेको यो समयलाई यो देशको सबैभन्दा गर्विलो र रहरलाग्दो कालखण्ड बनाउन प्रयास गरौं। पूरा गर्न नसकेका जिम्मेवारीहरू सामर्थ्यवानलाई सुम्पौँ। क्षमता र योग्यता विहीन पदीय लाभ तथा शंकास्पद सामाजिक आचरणहरूमा व्यापक सुधार गरौं। कसैलाई देखाउनकै लागि कसैलाई नजितौँ, कसैलाई जित्न कसैलाई नकुल्चौँ। यो देश तपाईं–हाम्रो साझा घर हो — छुट्टाछुट्टै चुल्होमा खाना खाए पनि तपाईं–हामी सबै एउटै परिवार हौँ।

प्रकाशित: २०८२ कार्तिक २३ गते आईतबार ०२:५२
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना