काठमाडौँ: मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आव २०८१/८२) अनुसार प्रदेशको कृषि क्षेत्रमा मिश्रित परिणाम देखिएको छ। प्रदेशमा खाद्य बाली उत्पादनमा सबैभन्दा बढी योगदान सर्लाही जिल्लाको रहँदै आएको छ भने, तरकारी, फलफूल र पशुपालन उत्पादनका सूचकहरूमा विभिन्न उतारचढाव देखिएका छन्।
प्रतिवेदनअनुसार, मधेश प्रदेशमा कृषि बाली उत्पादनको १९.७५ प्रतिशत हिस्सा सर्लाहीको रहेको छ। यो हिस्सा प्रदेशको कुल उत्पादनमा सबैभन्दा उच्च हो। त्यसपछि क्रमशः सिराहा, धनुषा र महोत्तरी जिल्लाको योगदान उल्लेखनीय रहेको छ। विपरीत रूपमा, पर्सा जिल्लाको हिस्सा सबैभन्दा कम ६.५१ प्रतिशत मात्र रहेको छ।
तरकारी तथा बागवानीतर्फ महोत्तरी जिल्लाले अग्रस्थान कायम राखेको छ। उक्त जिल्लाको हिस्सा २२.४६ प्रतिशत रहेको छ भने पर्सा जिल्लाको हिस्सा सबैभन्दा कम ६.३० प्रतिशत मात्र रहेको प्रतिवेदनले देखाएको छ। फलफूल तथा मसलातर्फ सप्तरी जिल्लाको योगदान सबैभन्दा बढी ३१.५१ प्रतिशत र पर्साको योगदान न्यूनतम १.८३ प्रतिशत मात्र रहेको छ।
खाद्यान्न उत्पादनमा उतारचढाव
मधेश प्रदेशमा अघिल्ला वर्षको तुलनामा केही बालीमा सुधार देखिए पनि समग्र खाद्यान्न उत्पादनमा कमी आएको छ। प्रतिवेदनअनुसार, गहुँ उत्पादनमा २.२८ प्रतिशत, धानमा १०.७० प्रतिशत, उखुमा १७.४७ प्रतिशत, आलुमा ३२.९३ प्रतिशत र मकैमा ३४.८५ प्रतिशतले वृद्धि भएको छ। तर, सनपाटमा २.६८ प्रतिशत, फापरमा ९.१७ प्रतिशत, दलहनमा १४.४५ प्रतिशत र जौमा २८.०१ प्रतिशतले कमी आएको छ।
अघिल्लो वर्ष (आव २०८०/८१) मा भने गहुँ, धान, उखु र मकै सबै बालीको उत्पादनमा कमी आएको थियो। त्यस वर्ष गहुँ २.४२ प्रतिशत, उखु ३.४१ प्रतिशत, धान ३.६८ प्रतिशत र मकै ११.४४ प्रतिशतले घटेका थिए।
समीक्षा अवधिमा तरकारी तथा बागवानी उत्पादनमा ९.७९ प्रतिशतले वृद्धि भएको छ। प्रदेशभर १४ लाख ६७ हजार ५ सय ६७ मेट्रिक टन तरकारी उत्पादन भएको अनुमान गरिएको छ। तीमध्ये महोत्तरी जिल्लाले ३ लाख २९ हजार ५ सय ६० मेट्रिक टन उत्पादन गरी कुल उत्पादनको २२.४६ प्रतिशत हिस्सा ओगटेको छ। पर्सा जिल्लामा भने ९२ हजार ४ सय ८६ मेट्रिक टन उत्पादन मात्र भएको छ, जुन कुल उत्पादनको ६.३० प्रतिशत हो।
यो वर्ष फलफूल तथा मसलाको उत्पादनमा ९.४३ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष २६.९७ प्रतिशत वृद्धि भएकोमा यो वर्ष उल्टो परिणाम देखिएको हो। फलफूल उत्पादन ९.०७ प्रतिशतले घटेको छ भने मसलामा १०.५३ प्रतिशतले गिरावट आएको छ। फलफूलमध्ये केरा र अदुवा उत्पादनमा वृद्धि देखिएको छ भने आँपको उत्पादनमा कमी आएको छ। मसलामध्ये लसुनको उत्पादन बढेको छ भने प्याज र बेसारमा कमी आएको उल्लेख छ।
आव २०८१/८२ मा मधेश प्रदेशमा दूध उत्पादन ३.१६ प्रतिशतले बढ्दै ६ लाख ७४ हजार ८ सय ७ लिटर पुगेको छ। अण्डा उत्पादन ९.६४ प्रतिशतले बढेर १ लाख १८ हजार ३ सय ४४ गोटा पुगेको छ। ऊन उत्पादनमा २७.५८ प्रतिशतले वृद्धि भई १ हजार १ सय १७ केजी पुगेको छ भने छालाको उत्पादनमा सानो सुधार (०.४३ प्रतिशत) देखिएको छ।
तर, मासु उत्पादनमा भने ०.९० प्रतिशतले कमी आई १ लाख ४१ हजार ६ सय ६२ मेट्रिक टनमा सीमित भएको छ। अघिल्लो वर्ष मासु उत्पादन २.४६ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा कुल दूध उत्पादनमध्ये सिरहाको हिस्सा सबैभन्दा बढी २१.१३ प्रतिशत रहेको छ भने सप्तरीको हिस्सा सबैभन्दा कम ७.७५ प्रतिशत रहेको छ।
माछा उत्पादनमा निरन्तर वृद्धि
मधेश प्रदेशमा माछा उत्पादन लगातार वृद्धि भइरहेको छ। चालु वर्षमा माछा उत्पादन ५.९५ प्रतिशतले बढेर ४८ हजार २ सय ८१ मेट्रिक टन पुगेको छ। अघिल्लो वर्ष ५.०४ प्रतिशतले वृद्धि भई ४५ हजार ५ सय ७१ मेट्रिक टन पुगेको थियो।
प्रदेशका जिल्लामध्ये बारामा सबैभन्दा बढी माछा उत्पादन भएको छ, जसको हिस्सा २२.११ प्रतिशत रहेको छ। पर्सा जिल्लामा भने उत्पादन सबैभन्दा कम ७.६० प्रतिशत मात्र छ।


