काठमाडौं। आर्थिक वर्ष २०८१/०८२ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि ४.७० प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.९४ प्रतिशत रहेको संशोधित अनुमान छ।
आर्थिक वर्ष २०८१/८२ मा मुलुकको जीडीपीमा लुम्बिनी प्रदेशको योगदान १४.२३ प्रतिशत हुने अनुमान छ। आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेशको जीडीपीको उपभोक्ताको मूल्यमा ८ खर्ब ६९ अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनीको आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो।
त्यसैगरी, जीडीपी वृद्धिदरलाई क्षेत्रगत रुपमा हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै यातायात भण्डारण क्षेत्रको ९.७० प्रतिशत रहने अनुमान गरिएको छ।
सबैभन्दा कम खानी तथा उत्खननमा २ प्रतिशत मात्र रहने अनुमान छ। औद्योगिक वर्गीकरणका आधारमा प्रादेशिक अर्थतन्त्रमा कृषि, वन तथा मत्स्यपालन क्षेत्रको योगदान सबैभन्दा बढी ३१.०२ र सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३५ प्रतिशत रहने अनुमान छ।
लुम्बिनी प्रदेशले नेपालको कुल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ। यस प्रदेशमा ४ उप–महानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कुल १०९ वटा स्थानीय तहहरु रहेका छन्।
अन्तरप्रदेश तुलना आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ रहने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ। मुलुकको कुल जीडीपीमा बागमती प्रदेशले सबैभन्दा धेरै ३६.५२ र कर्णाली प्रदेशले सबैभन्दा कम ४.१९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्याँक कार्यालयको छ।
त्यस्तै, लुम्बिनी प्रदेशले १४.२३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान छ। प्रदेशगत जीडीपीको क्षेत्रगत तुलना गर्दा कृषिको सबैभन्दा बढी योगदान मधेश प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ११.८ प्रतिशत रहने अनुमान गरिएको छ।
उद्योग क्षेत्रको योगदान गण्डकी प्रदेशमा सबैभन्दा बढी १७.१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ९.६ प्रतिशत हुने अनुमान गरिएको छ। सेवा क्षेत्रको योगदान बागमती प्रदेशको सबैभन्दा बढी ७७.१ प्रतिशत र कणाली प्रदेशको सबैभन्दा कम ४९.८ प्रतिशत हुने अनुमान छ।
त्यसैगरी, जीडीपीमा लुम्बिनी प्रदेशको कृषि, उद्योग तथा सेवा क्षेत्रको योगदान क्रमशः ३१, १४ र ५५ प्रतिशत रहने अनुमान गरिएको छ।
लुम्बिनी प्रदेशको औद्योगिक अवस्था
आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेशको जीडीपीको उपभोक्ताको मूल्यमा ८ खर्ब ६९ अर्ब रहने प्रारम्भिक अनुमान रहेको छ। जसमा उद्योग क्षेत्रको हिस्सा १४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।
उद्योग विभागका अनुसार २०८२ असार मसान्तसम्ममा लुम्बिनी प्रदेशमा ३ खर्ब २७ अर्ब ५७ करोड रुपैयाँ लगानीमा ७५६ वटा उद्योगहरु दर्ता भएका छन्। लुम्बिनी प्रदेशमा रहेका उद्योगहरुको जिल्लागत हिस्सामा सबैभन्दा धेरै रुपन्देही जिल्लाको ३८.६२ प्रतिशत र सबैभन्दा कम प्यूठान र रोल्पा जिल्लाको ०.४० प्रतिशत रहेको छ।
यस प्रदेशमा रहेको बुटवल औद्योगिक क्षेत्रमा ६६ र नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३१ वटा उद्योगहरु सञ्चालनमा रहेका छन्। बुटवल औद्योगिक क्षेत्रमा ३ वटा उद्योगहरु र नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३ वटा उद्योगहरु बन्द अवस्थामा रहेका छन्।
प्रदेशमा थप औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले रुपन्देही जिल्लाको मोतीपुर औद्योगिक क्षेत्र र बाँके जिल्लाको नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास भई निर्माण कार्य अगाडि बढेको छ।
उद्योगको क्षमता उपयोग, उत्पादन तथा रोजगारी क्षमता उपयोग अध्ययनमा समेटिएका २८ उद्योगहरुको समीक्षा वर्षमा औसत क्षमता उपयोग ५०.६० प्रतिशत रहेको छ।
गत वर्ष यस्तो क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो। अध्ययनमा समेटिएका उद्योगहरुमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ८८.६९ प्रतिशत र सबैभन्दा कम ड्राई सिरप उत्पादन गर्ने उद्योगले ८.६४ प्रतिशत क्षमता उपयोग गरेका छन्।


