काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो तीन महिनामा उपभोक्ता मुद्रास्फीति घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बजारमा महँगी दरमा उल्लेखनीय कमी आएको देखिएको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार विगत ३ महिनामा आधारित वार्षिक उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले घटेको देखिएको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत थियो। आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही त्रैमासमा औसत मुद्रास्फीति ४.२६ प्रतिशत थियो।
विवरण अनुसार खाद्य तथा पेय पदार्थ समूहभित्र घ्यू तथा तेल उप–समूहको वार्षिक उपभोक्ता मूल्य ७.७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थ ३.७१ प्रतिशत, र माछा तथा मासु ३.१५ प्रतिशतले बढेको छ। तरकारी उप–समूहको मूल्य १५.६३ प्रतिशत, मरमसला ७.८२ प्रतिशत, र दाल तथा गेडागुडी ४.४१ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहभित्र विविध वस्तु तथा सेवा उप–समूह १५.५१ प्रतिशत, शिक्षा ७.६७ प्रतिशत, कपडा तथा जुत्ता ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.८४ प्रतिशत, र फर्निचर तथा घरायसी उपकरण ४.५५ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य भने ०.२३ प्रतिशतले घटेको देखिन्छ।
क्षेत्रगत रूपमा, ग्रामीण क्षेत्रको वार्षिक मुद्रास्फीति १.२९ प्रतिशत र सहरी क्षेत्रको १.५३ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेश २.३३ प्रतिशत, मधेश १.२० प्रतिशत, बागमती १.१३ प्रतिशत, गण्डकी १.१६ प्रतिशत, लुम्बिनी १.८९ प्रतिशत, कर्णाली १.९१ प्रतिशत, र सुदूरपश्चिम ०.६९ प्रतिशत रहेको छ।
क्षेत्रीय विवरण अनुसार काठमाडौं उपत्यकाको वार्षिक मुद्रास्फीति १.४३ प्रतिशत, तराई १.२९ प्रतिशत, पहाड १.५० प्रतिशत, र हिमाल २.३३ प्रतिशत पुगेको छ।


