काठमाडौं। चालू आर्थिक वर्ष चार महिनामा सरकारले लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको कात्तिकसम्म सरकारले लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।
साउनदेखि कात्तिकसम्म कूल तीन खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ। चार महिनामा मन्त्रालयले चार खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो।
गत कात्तिकमा मात्र सरकारले एक खर्ब तीन अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ७८ अर्ब ३३ करोड रुपैयाँ मात्र असूली भएको छ। चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य लिएको छ।
राजस्व संकलन गत आर्थिक वर्षको हारहारीमा मात्र भएको छ। गत आर्थिक वर्षको चार महिनामा तीन खर्ब २९ अर्ब दुई करोड रुपैयाँ राजस्व संकलन भएको थियो। गत वर्ष सरकारले चार खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य लिएको थियो। गत वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ लक्ष्य लिएको थियो।
लक्ष्यअनुसार राजस्व संकलन नभइरहेका बेला भने सरकारले चालू आर्थिक वर्ष २५.६३ प्रतिशत राजस्व संकलनको महत्वकांक्षी लक्ष्य राखेको छ। अहिले अवस्था हेर्दा सरकारले लिएको राजस्व संकलन पूरा हुने सम्भावना न्यून छ।
संघीय सरकारले १३ खर्ब १५ अर्ब र प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँडबाट एक खर्ब ६५ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान छ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले गर्दा अर्थतन्त्र संकटमा परेको छ। अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गर्र्दै आएको निजी क्षेत्रले खुलेर लगानी गर्ने अवस्थामा छैन। पहिला नै लगानी बढाउन आँट नगरेको व्यवसायीले आन्दोलनपछि विश्वास गुमाएका छन्।
करको दायरा विस्तार हुँदै गएको सरकारी तथ्यांकले देखाएको छ। पछिल्ला एक दशकयता सरकारले राजस्वका दर बढाउन भन्दा पनि दायरा विस्तारमा लागेको छ। मदिरा र सुर्तिजन्य वस्तुको बाहेक अन्य वस्तुको करको दर बढेको छैन्।
सरकारले लिएको लक्ष्यअनुसार करदाताको संख्या बढ्दै गएको छ। तर लक्ष्यअनुसार कर उठाउन सरकार असफल हुँदै आएको छ।
गत साउनसम्म स्थायी लेखा नम्बर (प्यान) लिने सक्रिय करदाताको संख्या बढेर ७० लाख ६ हजार ८०३ पुगेको अर्थ मन्त्रालयले जनाएको छ। गत चैतसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ लाख २३ हजार ५५९ पुगेको थियो।
यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ४९ लाख नाघेको अर्थ मन्त्रालयले जनाएको छ। व्यावसायिक स्थायी लेखा नम्बर लिने सक्रिय करदाताको संख्या २० लाख १५ हजार ६३ र करकट्टि गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ३५ हजार ८५२ पुगेको छ।
कुल स्थायी लेखा नम्बरमा व्यावसायिक लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः २८.९, ०.५ र ७०.६ प्रतिशत रहेको छ।
यस अवधिसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता ३ लाख ४५ हजार २७४ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १९ हजार १६९ पुगेको छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा सरकारले लक्ष्यको ८३ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो। गत वर्ष लक्ष्य भन्दा दुई खर्ब ४० अर्ब ४८ करोड रुपैयाँ कम राजस्व संकलन भएको थियो।
एक दशकको अवधिमा राजस्व संकलन औसत १४ प्रतिशत भएको छ। लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेका बेला गत आर्थिक वर्ष सरकारले वास्तविक संकलन भन्दा ३४ प्रतिशत उठाउने महत्वकांक्षी लक्ष्य राखेको थियो।
सरकारले ३४ प्रतिशत राजस्व संकलनको लक्ष्य तय गर्दा औसत वृद्धि १४.४० प्रतिशत मात्र भएको थियो। गत आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। आर्थिक वर्ष सकिँदा जम्मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।
अर्थ मन्त्रालयले बनाएको मध्यकालिन खर्च संरचनाअनुसार चालू आर्थिक वर्षमा ०८२/०८३ मा १६.९ राजस्व बढ्ने प्रक्षेपण गरेको छ। यस्तै आगामी आर्थिक वर्षमा ०८३/०८४ मा वृद्धिदर घटेर ९.५ सीमित हुने प्रक्षेपण गरेको छ। यस्तै आर्थिक वर्ष ०८४/०८५ मा बढेर १४.५ प्रतिशत राजस्व बढ्ने मध्यकालीन खर्च संरचनामा अनुमान गरिएको छ।


