काठमाडौं – म्यानमारमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज बिहीबार चीनको सामना गर्दैछ। यानगोनस्थित थुवुन्ना रंगशालामा नेपालले चीनको सामना गर्न लागेको हो।
नेपाल र चीनबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ। नेपालका लागि चीन कठिन प्रतिद्वन्दी हो। नेपाली टिमका मूख्य प्रशिक्षक याम प्रसाद गुरुङले उत्कृष्ट खेल पस्किने बताएका छन्।
उनले भने, ‘यू २० साफ खेल्दा पनि पहिले हारेको हो। यहाँ पनि त्यस्तै भएको छ। तर आज हामी एसियाको राम्रो टिमविरुद्ध खेल्न लागेका छौं। यद्यपी आज हामी उत्कृष्ट खेल्ने कोसिस गर्नेछौ।’
नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ। तर त्यो भने सजिलो हुनेछैन। किनभने पहिलो खेलमा नै नेपाल घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको थियो।
यता चीन भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। उसले पहिलो खेलमा चाईनिज ताइपेलाई १–० ले हराएको थियो। तर नेपाललाई जित निकाल्न कठिन रहेको कप्तान दिपा शाहीलाई पनि थाहा छ। त्यसैले उनी आज डिफेन्सिभ खेल्ने बताउँछिन्।
‘तयारी राम्रो गरेका छौं। मनोबल पनि उच्च छ। पहिलो खेलमा हार बेहोरको भए पनि हाम्रो मनोबल कमजोर भएको छैन्। हामी आज डिफेन्सिभ खेल्ने नै हो। हामी अट्याकिङमा पनि अवसर खोज्नेछौं। हामी स्कोर निकाल्यौँ त्यसलाई जोगाउने छौं,’ कप्तान साहीले भनिन्।
छनोटको समूह बीमा अंक विहीन रहदै नेपाल पुछारमा छ। नेपालविरुद्ध जित निकालेको म्यानमार शीर्ष र चीन ३ अंक जोडेर दोस्रो स्थानमा छ।


