काठमाडौं – नेपालले फलिपिन्ससँगको मैत्रीपूर्ण फुटबल खेलमा हार बेहोरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा गोल बेहोरेपछि नेपालले १–० को साँघुरो हार बेहोरेको हो।
फिलिपिन्सको घरेलु मैदान रिजल मेमोरियल स्टेडियममा सम्पन्न खेलको ४९ औं मिनेटमा नेपालले गोल बेहोरेको थियो। डिफेन्डर पुजन उपरकोटीले बल क्लियर गर्न नसकेपछि फिलिपिन्सका जर्भी गार्योसले छ यार्ड बक्सको रेखाबाट प्रहार गर्दै गोल गरेका थिए।
गार्योसले प्रहार गर्दा नेपाली टिमका गोलकिपर किरण कुमार लिम्बु पोष्टभन्दा धेरै अघि बढेर बचाउ गर्दै थिए।
खेलको अधिक समय फिलिपिन्सले बललाई नियन्त्रणमा राखेको थियो। खेलको नेपालमा नेपालले पनि केही अवसर सिर्जना गरेको थियो तर अट्याकिङ थर्डमा प्रभावसाली मुभ बनाउन भने सकेन।
नेपाली टिममा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेस आएपछि नेपालले बेहोरेको यो पहिलो हार हो। उनको प्रशिक्षणमा नेपालले भुटान र लाओेस सम्मिलित प्रतियोगिताको उपाधि जितेको थियो।

आजको खेल हुँदा फिलिपिन्सको प्रशिक्षक माइकल वाइज रहेका छन्। थ्रि नेसन्स कप नेपालमा आयोजना हुँदा उनी लाओसका प्रशिक्षक थिए। उनले नेपालविरुद्ध तेस्रो खेल खेलेका हुन्। थ्रि नेसन्स कपमा नेपालले लोओससँग दुई खेले खेलेको थियो।
यता, साफ च्याम्पियनसिपको तयारी गरिरहेको नेपालले भने इतिहासमा फिलिपिन्सविरुद्ध पाँचौ हार बेहोरेको हो। यो नेपाल र फिलिपन्सको सातौं खेल थियो। बाँकी दुई खेलमध्ये नेपालले एक जित निकालेको थियो भने एक खेल बराबरी भएको थियो।
आजको खेलबाट डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका थिए।
