वीरगञ्ज। चालू आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर ५४ अर्ब १२ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन भएको छ।
भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा दुई अर्ब ९३ करोड रुपैयाँ बढी हो।
जबकी गत आर्थिक वर्षको चार महिनाको अवधिमा ५१ अर्ब १९ करोड रुपैयाँ पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व संकलन भएको थियो।
कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिए।
गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त हुने राजस्वमा समेत ९.६० प्रतिशतले बढेको छ।
चालु आवको कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड रुपैयाँ पर्ने दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।
उक्त डिजेल आयातबाट १० अर्ब ७३ करोड राजस्व संकलन भएको छ। जबकी गत आवको सोही अवधिमा भने २१ अर्ब ८३ करोड रुपैयाँको डिजेल आयात भएको थियो। सोबाट नौ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको थियो।
चालु आवको चार महिनामा १४ अर्ब २७ करोड रुपैयाँ पर्ने एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ। पेट्रोल आयात हुँदा नौ अर्ब ४३ करोड रुपैयाँ राजस्व उठेको छ।
जबकी, गत आर्थिक वर्षको चार महिनामा भने १२ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोल आयात हुँदा आठ अर्ब ११ करोड राजस्व उठेको थियो।


