काठमाडौँः अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले जेनजी आन्दोलनका कारण अटोमोबाइल क्षेत्रमा गम्भीर असर परेको दाबी गरिरहे पनि त्यसको प्रत्यक्ष प्रभाव भने भन्सार विभागको पछिल्लो तथ्यांकमा देखिएको छैन।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सवारीसाधनको समग्र आयात अघिल्लो आर्थिक वर्षकै हाराहारीमा कायम देखिएको छ। सवारीसाधनको आयात संख्या, मूल्य र राजस्व संकलन तीनै पक्षमा ठूलो उतारचढाव नदेखिनुबाट जेनजी आन्दोलनले तत्काल आयात तहमा उल्लेखनीय प्रभाव नपारेको देखिन्छ।
विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्म १२ अर्ब ५९ करोड रुपैयाँ बराबरका ६ हजार ९७६ वटा चारपांग्रे निजी सवारीसाधन (कार, भ्यान र जिप) आयात भएका छन्। यसबाट सरकारले १४ अर्ब ४८ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १४ अर्ब ६० करोड रुपैयाँ बराबरका ६ हजार ७९१ वटा चारपांग्रे निजी सवारीसाधन आयात भएका थिए। उक्त आयातबाट १४ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
यस तथ्यांकले सवारी आयात संख्या चालु वर्षमा सामान्य रूपमा बढे पनि आयात मूल्य घटेको देखाउँछ। अर्थात् नेपाली बजारमा यस वर्ष मध्यम मूल्यका सवारीसाधनको आयात बढेको अनुमान गर्न सकिन्छ।
ईभीको आयात घट्यो
समग्र सवारी आयात स्थिर देखिए पनि विद्युतीय सवारी (ईभी) को आयात भने घटेको छ। नेपालमा ईभीप्रतिको चासो, प्रयोग र चर्चा बढ्दो देखिए पनि पछिल्लो पाँच महिनाको आयात तथ्यांकले भने फरक चित्र देखाएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ८ अर्ब ९५ करोड ५१ लाख रुपैयाँका ३ हजार ७९८ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। गत आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ११ अर्ब २७ करोड २१ लाख रुपैयाँका ४ हजार ६९७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका थिए।
भन्सार विभागका तथ्यांकअनुसार सबैभन्दा धेरै विद्युतीय सवारी चीनबाट आयात भएका छन्। कुल २ हजार ६२७ वटा सवारी चीनबाट भित्रिएका छन्। भारतबाट आयात भएका गाडीहरूको संख्या ८ हजार २२ रहेको छ।
विद्युतीय गाडी मुख्यतः छिमेकी मुलुक चीन, भारतका साथै जर्मनी, अमेरिका, दक्षिण कोरिया र इन्डोनेसियाबाट आयात हुने गरेका छन्। नेपाली बजारमा बीवाईडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्रान्डहरूसँगै टाटा, ह्युन्दे, महिन्द्रा, कियालगायत भारतीय ब्रान्ड लोकप्रिय छन्।


