काठमाडौँ: आसन्न प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक भएको छ। जसमा पटक–पटक अवसर पाइरहने अध्यक्ष केपी ओलीनिकट नेताहरूसहित नेकपा फुट्दा एमालेमा बसेका पूर्वमाओवादी खेमाका रामबहादुर थापा बादलसम्म समेटिएका छन्।
सूचीमा हालै सम्पन्न नेकपा एमालेको एघारौँ महाधिवेशनबाट ओली प्यानलबाट पदाधिकारी निर्वाचित एक्ली महिला पद्मा अर्यालको नाम खस आर्यतर्फ पहिलो नम्बरमा छ। उनी पटक–पटक लाभको पद पाइरहनेमा पर्छिन्। २०७४ र २०७९ मा स्याङ्जाबाट निर्वाचित उनी ओली प्रधानमन्त्री हुँदा भूमि, व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी थिइन्।
रेडियो नेपालको स्थायी जागिर छाडेर राजनीतिमा होमिएकी गायिका कोमल वली पनि समानुपातिक सूचीमा परेकी छन्। रेडियो नेपालको स्थायी जागिर छाडेर राप्रपा प्रवेश गरेकी उनी राप्रपा विभाजनपछि २०७४ सालमा एमाले प्रवेश गरेकी थिइन्। उनलाई ओलीले यसअघि राष्ट्रियसभा सदस्य बनाएका थिए। उनको नाम खस आर्य महिला क्लस्टरको चौथो नम्बरमा छ।
यस्तै पूर्वसांसद निरुदेवी पाल पनि समानुपातिक सूचीमा अटाएकी छन्। २०७४ मा पनि समानुपातिबाट सांसद बनेकी उनको नाम खस महिला क्लस्टरको तेस्रो नम्बरमा रहेको छ। २०७२ मा ओली प्रधानमन्त्री हुँदा जनसम्पर्क विज्ञको जिम्मेवारी सम्हालेकी उनी ओलीले स्नेह गर्ने नेतृमा पर्छिन्। २०७९ को निर्वाचनमा पनि उनी एमालेकी उम्मेदवार थिइन्। राप्रपासँग गठबन्धन गरे पनि उनी नेपाली कांग्रेसका नेता रमेश लेखकसँग पराजित भएकी थिइन्।
यस्तै आठ वर्षको उमेरदेखि २५ वर्षसम्म जमिनदारको घरमा कमलरी बसेर राजनीतिमा छिरेकी पूर्वसांसद शान्ता चौधरी पनि समानुपातिक सूचीमा परेकी छन्। उनी नेपालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक कोटाबाट सभासद चुनिएकी थिइन्। ओलीनिकट नेतृ चौधरीले त्यसयता उनले एमालेमा लाभको पद पाउँदै आएकी छन्। उनको नाम थारु क्लस्टरमा दोस्रो नम्बरमा रहेको छ।
यसैगरी हालै सम्पन्न महाधिवेशनमा उपाध्यक्षसहित केन्द्रीय सदस्यमा समेत पराजित गुरु बराल पनि समानुपातिक सूचीमा अटाएका छन्। एमालेको पाँचौँ महाधिवेशनदेखि नै ओलीसँग निकट सम्बन्ध बनाएका बराल पटक–पटक टिकट पाए पनि पराजित हुने नेतामा पर्छन्। २०५२ को उपनिर्वाचनमा मोरङ ६ बाट विजयी उनले त्यसयता २०५६, २०६४ र २०७० मा पनि टिकट पाए पनि जित हाँसिल गर्न सकेनन्। यसपटक भने उनी समानुपातिक सूचीमा राखिएका छ्न्। उनको नाम खसअर्य क्लस्टरको पुरुषतर्फको पहिलो नम्बरमा रहेको छ।
यस्तै पूर्वमाओवादी खेमाबाट आएका बादल पनि ओलीले प्रेम गर्ने नेताभित्र पर्छन्। यसअघि गृहमन्त्री र रक्षामन्त्री भैसकेका उनको नाम आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा छ।


