काठमाडौं। मुलुकको विदेशी विनिमय सञ्चिती बढेर हरेक महिना नयाँ रेकर्ड राख्दै आएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी विनिमय सञ्चिती १९.६ प्रतिशत बढेर ३२ खर्ब एक करोड रुपैयाँ पुगेको छ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँबराबर कुल विदेशी विनिमय सञ्चिति थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशत वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १८.७ प्रतिशत वृद्धि भई २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा २७.४ प्रतिशत वद्धि भई तीन खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत छ। आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४, १५१.९ र ३९.४ प्रतिशत रहेको छ।


