काठमाडौं: सवारी साधन खरिदका लागि ऋण लिनेको संख्या बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार गत वर्षको मंसिर मसान्तको तुलनामा यस वर्षको मंसिर मसान्तमा कार तथा मोटरसाइकल खरिदका लागि लिइने हायर पर्चेज कर्जा ६.१ प्रतिशतले वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा अन्तर्गत कमर्सियल तथा निजी प्रयोजन (पर्सनल)का सवारी साधन खरिदका लागि ऋण प्रवाह गर्दै आएका छन्। राष्ट्र बैंकका अनुसार सो अवधिमा पर्सनल सवारी साधन कर्जा ४ प्रतिशतले बढेको छ भने कमर्शियल सवारी साधन कर्जा ७ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार २०८१ मंसिर मसान्तसम्म हायर पर्चेज कर्जा १ खर्ब २८ अर्ब रुपैयाँ रहेकोमा २०८२ मंसिर मसान्तसम्म आइपुग्दा यस्तो कर्जा बढेर १ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। जसमध्ये पर्सनल सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब ४३ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका छन्। गत वर्षको मंसिर मसान्तसम्म पर्सनल सवारी साधन खरिदका लागि ४१ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।
त्यस्तै, मंसिर मसान्तसम्म कमर्सियल सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरूले ९२ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्षको मंसिर मसान्तसम्म यस्तो कर्जा ८६ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।


