काठमाडौं। चालू आर्थिक वर्षको सात महिनामा विदेशी विनिमय सञ्चिती २३.३ प्रतिशत बढेको छ। गत माघसम्म विदेशी विनिमय सञ्चिती बढेर ३३ खर्ब दुई अर्ब ६६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति माघ मसान्तमा १६.७ प्रतिशत वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ।
२०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर थियो। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशत वृद्धि भई २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रुपैयाँ रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशत वद्धि भई तीन खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ कायम भएको छ।
२०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२/०८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ।


