काठमाडौं। अमेरिका र इजरायलले मिलेर इरानमाथि आक्रमण सुरु गरेपछि विश्वको कच्चा तेल बजारमा ठूलो हलचल पैदा गरेको छ। खाडी युद्धका कारण अहिले विश्वमा तेल आपूर्तिमा असन्तुलन आउँदा मूल्य आकासिएको छ।
विश्व बजारमा कच्चा तेलको भाउ ब्यारेको १०० देखि ११४ डलरसम्म कारोबार भएको छ। मुरवान क्रुडमा कच्चा तेल ब्यारेलको ११४.४० डलरमा कारोबार भएको छ। यस्तै डब्ल्युटीआई क्रुडमा ९९.०२ र ब्रेन्ट क्रुडमा १०४.५० डलरमा करोबार भएको आयल प्राइस डटकमले जनाएको छ।
यता इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीईले हर्मुज जलमार्ग बन्द जारी राख्ने बताएपछि तेलको आपूर्तिमा ठूलो असर पर्ने देखिएको छ। यद्यपि, इरानले अमेरिका र इजरायलबाहेकका मुलुकमा हुने तेल आपूर्ति नरोक्ने जानकारी दिएको छ।
उनको यो प्रतिक्रियाले कच्चा तेल आपूर्ति गम्भीर अवस्था सिर्जना गरेको छ। साथै उनले अमेरिका र इजरायलसँग इरानको जारी युद्धको सन्दर्भ जोड्दै खामेनीले लगातार आक्रमण जारी राख्न आह्वान गरेको सञ्चार माध्यमहरुले जनाएका छन्। उनको यो भनाईले मध्यपूर्व अझै केही समय अशान्त बन्ने देखिएको छ।
हर्मुज जलमार्ग बन्द जारी राख्ने इरानको अडान,तेल आपूर्ति झनै कठिन बन्दै
मध्यपूर्वमा जारी युद्धले तेल आपूर्तिमा झनै असहज बनेको छ। जारी युद्धले तेल बजारलाई थप अस्थिर बनाएको छ।इरानले खाडी तेल बोक्ने जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ।
नेपालमा पनि भारी वृद्धि
यता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहान १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको हो।
अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।
मध्यपूर्वमा जारी युद्धको बाछिटाले नेपालमा ‘दोहोरो प्रभाव’ देखिन थाल्यो
निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिका कारण बाध्यतावश मूल्य बढाउनु परेको हो। यसबाट उपभोक्तामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ।’
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर देखिएको हो।
बिहीबार बिहान मात्रै दुई तेल ट्यांकरमा आक्रमण भएको केही घण्टामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलर नजिक पुगेको थियो।
समुद्री मार्गमा देखिएको अवरोधले पनि व्यापारमा ठूलो समस्या निम्त्याएको छ। विशेषगरी हर्मुज जलडमरू र आसपासको तनावका कारण जहाजहरूले वैकल्पिक लामो मार्ग प्रयोग गर्न थालेका छन्।
सामान सिधा आउने बाटोबाट नआइ अफ्रिकाको केप अफ गुड होप हुँदै आउँदा झन्डै छ हजार ५०० किलोमिटर बढी यात्रा गर्नुपर्ने भएको छ। ढुवानी समय मात्र होइन लागत पनि उल्लेखनीय रूपमा बढाएको छ।
अहिले जहाज कम्पनीहरूले ‘वार प्रिमियम’ नाममा अतिरिक्त शुल्क लिन थालेका छन्। ४० फिट कन्टेनरमा मात्र ४ हजार डलरसम्म अतिरिक्त शुल्क लिइरहेका छन्। कतिपय अवस्थामा यो ७ हजार डलर माथि पुगेको छ। यसबाहेक बन्दरगाहमा भीड, ढिलाइ र डेमरेज शुल्कले पनि व्यापार लागत अझैं बढाइरहेको छ।
मध्यपूर्वमा देखिएको अशान्तको असर नेपाललमा पर्न थालेको छ। बिहीबारदेखि खाना पकाउने ग्यासका लागि लाइन लाग्न सुरु भएको छ। ग्यासको लाइन सुरु भएपछि नेपाल आयल निगम लिमिटेडले आधा सिलिन्डर ग्यास भर्ने योजना ल्याएको छ।
नेपालले अधिकांश पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकाले मध्यपूर्वको तनावले अप्रत्यक्ष रूपमा नेपाललाई पनि असर गर्न सक्छ।
भारतले प्रयोग गर्ने कच्चा तेलको ठूलो हिस्सा मध्यपूर्वबाट आउने भएकाले त्यहाँको आपूर्ति प्रभावित हुँदा भारतमा समेत लागत बढ्ने भएको छ।
भारतले प्रयोग गर्ने कच्चा तेलमध्ये झण्डै ५० प्रतिशत तेल होर्मुज जलडमरूमध्यबाट आउने गर्दछ। यदि उक्त मार्ग प्रभावित भयो भने भारतले भेनेजुएला वा रुसजस्ता अन्य स्रोतबाट तेल ल्याउनुपर्ने हुनसक्छ, जसले लागत बढाउनेछ।


