काठमाडौं। चालू आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स (विप्रेषण) ३७.७ प्रतिशत वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनसम्म कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो।
फागुन महिनामा मात्रै एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्ष सोही महिनामा यस्तो आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड रुपैयाँमा सीमित थियो।
अमेरिकी डलरमा गणना गर्दा फागुनसम्म कुल रेमिट्यान्स १० अर्ब १५ करोड पुगेको छ। साथै, समीक्षा अवधिमा खुद द्वितीय आय (नेट ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा वैदेशिक रोजगारीतर्फ जाने नेपालीहरूको सङ्ख्यामा भने केही गिरावट देखिएको छ। अन्तिम श्रम स्वीकृति लिनेको संख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा कम हो।


