काठमाडौं। अमेरिकी डलरको भाउ निरन्तर बढ्दै गएको छ। चालू आर्थिक वर्षको आठ महिनामा डलरसँग नेपाली रुपैयाँ ७.२ प्रतिशत अमूल्यन भएको छ। अघिल्लो वर्षको यही अवधिमा नेपाली रुपैयाँ ४.२ प्रतिशतले अवमूल्यन भएको थियो।
गत फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १४७.६४ रुपैयाँ थियो। गत असार मसान्तमा एक डलरबराबर १३७ रुपैयाँ थियो। हाल डलरको भाउ केही कम भएर १४९.२७ रुपैयाँमा झरेको छ। अघिल्लो साता बढेर १५२ रुपैयाँ माथि पुगेको छ। आठ महिनामा डलरसँग नेपाली मुद्रा १० रुपैयाँ भन्दा बढीले कमजोर भएको छ।
भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। एक डलरबराबर ९४.८५ भारु पुगेको थियो। हाल एक डलरबराबर ९२.८८ भारु छ।
नेरुको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले डलरसँग नेरु बलियो हुन गएको हो। डलरसँग नेपाली रुपैयाँ बलियो हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ। भारुसँगको स्थिर विनिमयदरमा पुनरावलोकन गर्नुपर्ने कुरा उठेको छ।
पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालको संयोजकत्वको उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले गत वर्ष चैत अन्तिममा बुझाएको प्रतिवेदनले भारुसँगको स्थिर विनिमयदरमा पुनरावलोकन गर्न सुझाएको थियो।
भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ।
अमेरिकाको भन्सारदर बढाएपछि यसको असर बेलायत, जर्मनी, जापान, चीन र अष्ट्रेलियालगायत अतिविकशित मुलुकहरुमा परेको छ। डलरसँग भारुका साथै युरो र युआनलगायत विश्वका प्रमुख मुद्राहरु कमजोर बनेका छन्।
गत जेठसम्म १३६ रुपैयाँ हारहारीमा रहेको डलर इरान र इजरायबीचको युद्धले बलियो बनेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको भाउ बढेर १४१ रुपैयाँसम्म पुगेको थियो।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। यतिबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउने छन्।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन्।
यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ। आयात गरिने वस्तु महँगो हुन जान्छ।यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ। डलरका कारण सरकारलाई ७० अर्ब रुपैयाँ दायित्व थपिएको छ।
नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ। यता नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने र नेपालीको आम्दानी बढेको भन्दै विकास साझेदार विश्व बैंकले ब्याज दोब्बर बढाएको छ।
आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ। विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ।
गत वर्ष ३३ अर्ब रुपैयाँ बढी लाभांशको रुपमा विदेसिएको छ। चालू आर्थिक वर्षको आठ महिनामा साढे १६ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा लाभांशवापत फिर्ता गएको छ।विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने गरेको छ।
अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ। यस्तै स्थानीय मुद्राहरु कमजोर बनेका छन्।


