काठमाडौँ: भारतबाट वस्तु आयात गर्न नेपाल राष्ट्र बैंकले अर्बौं डलर बेचेर खर्बौं भारतीय रुपैयाँ (भारु) खरिद गर्दै आएको छ। चालू आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा भारु खरिद उल्लेख्य रूपमा बढेको छ। जसले समग्र आर्थिक गतिविधि पुनः चलायमान हुँदै गएको संकेत गरेको छ।
राष्ट्र बैंकका अनुसार गत साउनदेखि फागुनसम्म दुई अर्ब ६२ करोड अमेरिकी डलर सटही गरी २ खर्ब ३३ अर्ब ९६ करोड रुपैयाँ बराबरको भारु खरिद गरिएको छ।
यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढी हो। गत वर्ष साउनदेखि फागुनसम्म दुई अर्ब ५४ करोड अमेरिकी डलर बिक्री गरी दुई खर्ब १५ अर्ब बराबरको भारु खरिद गरिएको थियो। भारु खरिदमा आउने उत्तारचढाब मुख्यतः भारतबाट हुने आयातमा जोडिएको हुन्छ।
नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध, खुला सीमाना तथा दैनिक उपभोग्य वस्तुमा भारतको उच्च निर्भरताका कारण आयात बढेसँगै भारुको माग स्वाभाविक रूपमा बढ्ने गर्दछ। राष्ट्र बैंकको विवरणअनुसार साउनमा १७ अर्ब ५४ करोड भारु खरिद गरिएको छ।
त्यस्तै, भदौमा १५ अर्ब ७३ करोड, असोजमा सबैभन्दा धेरै ६५ अर्ब ५१ करोड, कात्तिकमा १२ अर्ब ४१ करोड, मंसिरमा ३५ अर्ब ७२ करोड, पुसमा ३६ अर्ब १३ करोड, माघमा १८ अर्ब १५ करोड र फागुनमा ३२ अर्ब ७३ करोड रुपैयाँ बराबरको भारु खरिद भएको छ।
विशेष गरी चाडपर्वको मौसम परेको असोज र मंसिरमा खाद्यान्न, लत्ताकपडा, सवारी साधन, इलेक्ट्रोनिक्स र कच्चा पदार्थको आयात बढ्दा भारुको माग उच्च देखिएको हो।
पछिल्ला केही वर्षयता आयातमा आएको कमीका कारण नेपाली अर्थतन्त्र सुस्त बन्दै गएको थियो। आयात घट्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिनु, ब्याजदर न्यून हुनु तथा विदेशी मुद्रा सञ्चिति अस्वाभाविक रूपमा बढ्नुजस्ता प्रवृत्ति देखिएका थिए। यसले उद्योग सञ्चालन, व्यापार विस्तार र रोजगारी सिर्जनामा समेत नकारात्मक असर पारेको थियो।
तर, चालू आर्थिक वर्षमा आयातमा क्रमिक सुधार देखिएको छ। भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म कुल आयात १२.५४ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात २०.८३ प्रतिशतले वृद्धि भई एक खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।
यसमध्ये भारततर्फ मात्र एक खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ। यद्यपि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अझै १२.९१ प्रतिशतमा सीमित छ भने आयातको हिस्सा ८७.०९ प्रतिशत रहेको छ।
आयात वृद्धि भएसँगै राजस्व संकलनमासमेत सुधार आउने अपेक्षा गरिएको छ। यसले हालसम्म सुस्त रहेको विकास निर्माण, पूर्वाधार विस्तार तथा सरकारी खर्चलाई गति दिन सहयोग पुग्ने विश्वास गरिएको छ। समग्रमा, डलर बिक्री गरी भारु खरिद बढ्नु अर्थतन्त्र पुनः सक्रिय हुँदै गएको सकारात्मक संकेतका रूपमा हेरिएको छ।
यद्यपि अन्तर्राष्ट्रिय परिस्थितिले केही चुनौती पनि सिर्जना गरेको छ। अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य तनावका कारण विश्व आपूर्ति शृंखलामा असर परेको छ, जसको प्रभाव नेपाली बजारमा समेत देखिन थालेको छ।
विशेषगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आयात लागत बढाउनुका साथै मुद्रास्फीतिमा दबाब सिर्जना गरेको छ। अर्थशास्त्रीहरूका अनुसार यसको दीर्घकालीन प्रभाव आर्थिक सूचकहरूमा देखिन भने अझ केही समय लाग्न सक्छ।
यस्तै नेपाली रुपैयाँ भारुसँग स्थिर विनिमयदर (फिक्सड पेग) भएका कारण अमेरिकी डलरको भाउ भारतीय बजारमा निर्धारण हुने गरेको छ। सोही आधारमा नेपालमा डलरको भाउ तय हुन्छ।


