काठमाडौँ: इरानमा जारी युद्धका कारण इन्धनको आपूर्ति प्रभावित हुँदै मूल्य पनि बढेर आएपछि बढेको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि सरकारले कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने कर घटाउने निर्णय गरेको हो।
बैठकले इन्धनमा आयातमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतले छुट दिने निर्णय भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, उक्त निर्णयलाई औपचारिकता दिन नेपाल राजपत्रमा सूचना प्रकाशित गरिनेछ।
‘पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले जानकारी दिइन्।


