काठमाडौं। भारतीय कम्पनीले ४८० मेगावाट क्षमताको भेरी–३ जलासययुक्त जलविद्युत आयोजना बनाउने भएको छ। नयाँ दिल्लीमा रहेको सनराइज हाइड्रोपावर प्रालिले भेरी–३ जलासययुक्त जलविद्युत आयोजना अघि बढाउ लागेको हो।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयारीको लागि क्षेत्र निर्धारणको काम सुरु भएको छ।
प्रस्तावित भेरी–३ जलाशययुक्त आयोजनाको बाँधको उचाइ १४० मिटर अग्लो हुनेछ। आयोजनामा रोलर कम्प्याक्टेड क्रंक्रिट(आरसीसी) प्रकारको बाँध निर्माण गरिने कम्पनीले जनाएको छ।
बाँध निर्माण पश्चात पूर्ण जलाधार स्तर समुद्र सतहबाट ६१० मिटर उचाईमा रहेको छ। आयोजनामा पानी प्रवाह (डिजाइन डिस्चार्ज) ३६८.२८ घनमिटर प्रति सेकेण्ड रहेको कम्पनीले गरेको अध्ययनले देखाएको छ।
७३ अर्बमा चीनको गेजुवाले भेरी-१ अर्धजलासय आयोजना बनाउने, विभागले लाइसेन्स दिँदै
आयोजनाको ग्रस हेड १६० र नेटहेड १५२ मिटर छ। आयोजनाको जलाशयको क्षेत्रफल १९.६२ वर्ग किलोमिटर र ब्याक वाटर लम्बाई ३६ किलोमिटर रहेको छ। यसैगरी ९०० मिटर लामो दुई वटा हेडरेस सुरुङमार्फत भेरी नदीको बाँया किनारमा सतह प्रकारको विद्युतगृह निर्माण गरिने भएको छ।
विद्युतगृहमा १२० मेगावाट क्षमताका चार वटा फ्रान्सिस टर्वाइन जडान गरेर बिजुली उत्पादन गरिने तयारी सनराइजको छ।
सानीभेरी जलविद्युतलाई जुट्यो लगानी, सिटिजन्स बैंकको अगुवाइमा सात अर्ब २० करोड ऋण
आयोजनाबाट सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १, २, ३, ६, ७ र ११, सुर्खेतको सिम्ता गाउँपालिका, वडा नम्बर १, ३, ४, ६, ७, गुर्भाकोट नगरपालिका, वडा नम्बर ३, ९ र ११ रहेका छन्।
इआइए अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा उक्त क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा पार्न सक्ने प्रभावको यकिन गर्न उक्त स्थानका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिनका लागि सात दिनभित्र लिखित राय सुझाव मागेको छ।
आयोजनाको परामर्शदातामा नेपालको जेड कन्सल्ट प्रालि रहेको छ।
विद्युत विकास विभागले २०७४ जेठमा इजाजतपत्र (लाइसेन्स) खारेज गरेको थियो। पछि भारतीय कम्पनीलाई दिइएको हो।
यस्तै भेरी नदीमा २७० मेगावाटको भेरी–१ र २४१ मेगावाटको भेरी–२ जलविद्युत आयोजना पनि पहिचान भएको छ।
यस्तै ३२५ मेगावाटको माथिल्लो भेरी जलविद्युत आयोजना रहेको छ। जलविद्युत आयोजनाको स्वामित्व इन्ट्रिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिको नाममा छ।
यसैगरी ९७.४३ मेगावाटको डाँडागाउँ खलंगा भेरी जलविद्युत आयोजना पनि पहिचान भएको छ। यो आयोजना बनाउन २६ अर्ब २४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।


