काठमाडौंः एक्पर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालिले बनाउन लागेको ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजनालाई लगानी जुटेको छ।
सिटिजन्स बैंकको अगुवाइमा विभिन्न पाँच वाणिज्य बैंकहरूले सात अर्ब २० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन्। सम्झौतापत्रमा एक्पर्ट हाइड्रोका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन्।
सिटिजन्स बैंकले दुई अर्ब ५० करोड, नबिल बैंकले एक अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले एक एक अर्ब रुपैयाँ आयोजनामा ऋण लगानी गर्ने भएका हुन् । आयोजना बनाउन नौ अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान विकासकर्ता कम्पनी एक्सपर्टको छ।
रुकुमपूर्वमा निर्माण हुन लागेको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ।
कम्पनीका प्रबन्ध निर्देशक नेपालले वित्तीय साझेदारहरूसँगको सहकार्यले आयोजना समयमै सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोजनाले ऊर्जा क्षेत्रको सशक्तिकरणसँगै रुकुमपूर्वको आर्थिक समृद्धि र दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने बताए। सानीभेरी आयोजना रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४ र सिस्ने गाउँपालिका–२ मा निर्माण हुने भएको छ।
आयोजनाले २०७९ माघमा विद्युत विकास विभागबाट विद्युत उत्पादन इजाजत (लाइसेन्स) पाएको छ । २०८० असारान नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिद–बिक्री सम्झौता भएको छ।
काम सुरु भएको ४२ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको विकासकर्ता कम्पनीले जनाएको छ।
हालसम्म हेडवक्र्स तथा विद्युतगृहका लागि आवश्यक जग्गा खरिद, स्थानीय बासिन्दाको पुनर्वास, पहुँच मार्ग निर्माण, विस्फोटक पदार्थ भण्डारण बंकरका साथै नेपाली सेनाका लागि आवश्यक आवास स्थान निर्माणको अनुगमन सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
आयोजनाबाट उत्पादन हुने विद्युत ऊर्जा वाँफीकोट सबस्टेसनमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने भएको छ। यसका लागि विकासकर्ता कम्पनीले सर्वेक्षण अनुमति प्राप्त गरी वातावरणीय अध्ययनको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


