काठमाडौँः नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसहित ५ जना उच्च व्यवस्थापकसँग स्पष्टीकरण माग गरेको छ। प्राधिकरणले बुधबार ७ दिनको समयसीमा दिँदै किन निलम्बन नगर्ने भन्ने विषयमा जवाफ मागेको हो।
स्पष्टीकरण सोधिएका व्यक्तिहरूमा सीईओ उपासना पौडेल, डेपुटी सीईओ मुकेश कुमार कपुर तथा कार्यकारी निर्देशकहरू मनिष कुमार, शिशिर गैरे र सन्तोष केसी रहेका छन्। प्राधिकरणले उनीहरूको जवाफ सन्तोषजनक नभए निलम्बन गर्ने चेतावनी दिएको छ।
यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले कम्पनीका प्रमोटरहरू दीपक भट्ट, सुलभ अग्रवाल र शाहील अग्रवाल माथि अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार करिब ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको अनियमितता भएको देखिएको छ।
अनुसन्धानले विभिन्न कम्पनीका सेयर खरिदका लागि हिमालयन रिइन्स्योरेन्स तथा यसका सहायक संस्थाहरूको रकम दुरुपयोग गरिएको संकेत गरेको छ। सोही विषयमा स्पष्टिकरण माग गरिएको प्राधिकरणले जनाएको छ।


