काठमाडौं। व्यवसायिक घरना सारडा र जाजु ग्रुपले सञ्चालन गरिरहेको एसियन थाइफूड्स लिमिटेडको व्यापारमा चमक आएको छ। गत वर्ष उद्योगले रमपम, टु पिएम र प्रीति ब्राण्डका चाउचाउको व्यापार १४ प्रतिशत बढेर पाँच अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ।
सन् २०२४ मा एसियनको चाउचाउ व्यापार चार अर्ब ८६ करोड ८० लाख रुपैयाँ थियो। एक वर्षमा एसियन थाइफूड्को चाउचाउ व्यापार ६७ करोड रुपैयाँ पुगेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
चालू वर्षको छ महिनामा उद्योगले तीन अर्ब १८ करोड ९० लाख रुपैयाँबराबरको चाउचाउ व्यापार गरेका छ। यस्तै २०२३ मा चार अर्ब ७३ करोड ६० लाख र २०२२ मा चार अर्ब दुई करोड रुपैयाँबराबरको चाउचाउ व्यापार गरेको थियो।
उद्योगले चाउचाउ व्यापार विस्तार र लगानी विविधिकरण गर्न कपिलवस्तुको तौलिहवामा गत वर्षदेखि नयाँ कारखाना सञ्चालनमा ल्याएको छ। उक्त कारखानाबाट जुस पनि उत्पादन सुरु भएको एसियन थाइफूड्सले जनाएको छ।
पश्चिमी नेपालमा यसको दोस्रो चाउचाउ उत्पादन प्लान्ट थपिएर क्षेत्रगत आम्दानी विविधीकरणको अतिरिक्त भर्खरै सुरु गरिएको जुस उत्पादन सुरु भएकाले आय विविधीकरणमा सुधार हुने अपेक्षा गरिएको छ।
उद्योगको मुख्य आम्दानीको स्रोत चाउचाउ बिक्रीबाट हुने गरेको छ। कूल आम्दानीको ८२ प्रतिशत हिस्सा चाउचाउको छ।
चाउचाउ र खाजाको उत्पादनमा प्रयोग हुने प्रमुख कच्चा पदार्थहरू गहुँको पीठो र पाम तेल स्थानीय र आयात दुवैमार्फत खरिद गरिन्छ।
यद्यपि, तिनीहरूको मूल्य विश्वव्यापी रूपमा जोडिएको छ र कच्चा पदार्थको मूल्यमा हुने कुनै पनि उतारचढावले उद्योगको अपरेटिङ प्रफिट मार्जिनलाई प्रत्यक्ष असर गर्छ।
जुनपाम तेल र गहुँको मूल्यमा वृद्धिको कारण आर्थिक वर्ष २०२५ मा मार्जिन घटेको छ।
यद्यपि, यी वस्तुहरूको मूल्यमा स्थिरीकरण पछि आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा ८.१ प्रतिशतमा मार्जिनमा सुधार भएको उद्योगले जनाएको छ।
जसको दिगोपन अझै पनि देख्न बाँकी छ। उद्योगले भर्खरै मसालेदार प्रिमिय नुडल्स ‘डेभिल’ ब्राण्ड उत्पादन थालेको छ।
यसले पनि उद्योगको व्यापार वृद्धि गर्नेछ। यस्तै हालै अधिग्रहण गरिएको गूडलाइफ बेभरेजबाट भएको जुस उत्पादनले पनि उद्योगको आम्दानी बढाउन सहयोग पुग्नेछ।
ग्रुपको सिमेन्ट, अटोमोबाइल, व्यापार, वित्तीय क्षेत्र र खाद्यन्नलगायतमा लगानी रहेको छ।
उद्योग सन् १९९९ मा स्थापना भएको हो। उद्योग सोनापूर सुनसरीमा रहेको छ। एसियन थाइफूड्स चाउचाउ उत्पादन गर्ने पूर्वी नेपालको पहिलो उद्योग हो।
उद्योगले एक अर्ब ९८ करोड ६० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। एसियनले ए फोर स्कोर प्राप्त गरेको छ।
उद्योगले सर्वसाधारणलाई सेयर (आईपीओ) ल्याउने भएको छ।
