काठमाडौँः नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थामा रहेको नेपाल शेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सुधारका लागि संयोजक पदमा नयाँ नेतृत्व छनोट प्रक्रिया अघि बढाएको छ। राष्ट्र बैंकले आवेदन दिएका उम्मेदवारहरूमध्ये तीन जनालाई सर्टलिस्टमा राख्दै बुधबार कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका सार्वजनिक गरिएको हो।
१४ वर्षको संकटपछि समाधानको मोडमा नेपाल शेयर मार्केट एण्ड फाइनान्स, मर्जर अन्तिम विकल्प
राष्ट्र बैंकले चैत १९ गते आह्वान गरेको आवेदनका आधारमा योग्य ठहरिएका रविकुमार उपाध्याय, प्रेमश्वर शाक्य र दीपेन्द्र राजभण्डारीलाई छनोट प्रक्रियामा समावेश गरेको जनाएको छ। उनीहरूले राष्ट्र बैंकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन्। त्यसपछि अन्तर्वार्तामा सहभागी हुनेछन्। तोकिएको समयमै उपस्थित हुनुपर्ने उल्लेख गर्दै अनुपस्थित हुनेलाई थप अवसर नदिइने स्पष्ट पारिएको छ।
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सका पूर्वअध्यक्ष श्रेष्ठ बैंकिङ कसूरमा पक्राउ
यस नियुक्तिको उद्देश्य लामो समयदेखि समस्याग्रस्त रहेको संस्थाको व्यवस्थापन सुधार गर्नु र निक्षेपकर्ताको हित संरक्षण गर्नु हो। यसअघि संयोजक रहेका रोशनकुमार अधिकारीले राजीनामा दिएपछि नयाँ संयोजक छनोट प्रक्रिया सुरु गरिएको हो। हाल व्यवस्थापन समूहमा प्रकाश घिमिरे सदस्यका रूपमा कार्यरत छन्।
समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्न राष्ट्र बैंकले माग्यो संयोजक
छनोट हुने संयोजकको कार्यकाल एक वर्षको हुनेछ र कार्यसम्पादनका आधारमा थप गर्न सकिनेछ। मासिक १ लाख २६ हजार ३०० रुपैयाँ पारिश्रमिक तथा दशैं खर्च उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।
२०६८ सालदेखि समस्याग्रस्त रहेको यस संस्थामा उच्च खराब कर्जा र कमजोर व्यवस्थापनका कारण वित्तीय अवस्था अत्यन्त कमजोर बनेको छ। हाल कुल कर्जामध्ये करिब ९८.५२ प्रतिशत खराब ऋण रहेको छ। यस्तो अवस्थामा राष्ट्र बैंकले मर्जरलाई मुख्य समाधानका रूपमा अघि बढाउँदै व्यवस्थापन सुदृढीकरणका लागि नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको जनाएको छ।


