काठमाडौँः अब स्थानीय तहहरूले कम्पनी दर्ता गर्न तथा विभिन्न कम्पनीमा शेयर खरिद गरी स्वामित्व लिन पाउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले नयाँ व्यवस्था लागू गर्दै स्थानीय तहलाई यस्तो अधिकार दिएको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख २५ गते जारी गरेको सूचनाअनुसार सौर्य ऊर्जा लगायत विभिन्न विकास तथा पूर्वाधार आयोजनामा लगानी गर्न स्थानीय तहहरूबाट आएको अनुरोधका आधारमा यो व्यवस्था गरिएको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार गाउँपालिका, नगरपालिका तथा अन्य स्थानीय तहहरूले कम्पनी स्थापना गर्न वा कुनै कम्पनीको सेयर खरिद गरी लगानी गर्न सक्नेछन्। तर, त्यसअघि सम्बन्धित स्थानीय तहले आवश्यक कानुन निर्माण गरी औपचारिक निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यालयले कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्ने सर्त पनि राखेको छ। कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै स्थानीय तहले कम्पनीमा लगानी वा स्वामित्व ग्रहण गर्न पाउनेछन्।
यस व्यवस्थासँगै स्थानीय तहहरूलाई सौर्य ऊर्जा, पूर्वाधार विकास, उत्पादनमूलक उद्योग तथा अन्य आर्थिक गतिविधिमा प्रत्यक्ष लगानी गर्ने बाटो खुलेको छ। यसले स्थानीय सरकारलाई विकास आयोजना सञ्चालन तथा आर्थिक स्रोत व्यवस्थापनमा थप सक्रिय भूमिका निर्वाह गर्न सहज हुने अपेक्षा गरिएको छ।


