काठमाडाैँ: नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारसमक्ष कर, लगानी, कृषि, सहकारी तथा वित्तीय क्षेत्र सुधारसम्बन्धी विभिन्न सुझाव पेश गरेको छ। संस्थाले अर्थतन्त्रलाई पारदर्शी, प्रतिस्पर्धी र लगानीमैत्री बनाउन नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरेको छ।
आइक्यानले चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको बचतमा आयकर छुट दिनुका साथै शिक्षा र तालिम सेवामा मूल्य अभिवृद्धि कर नलगाउन माग गरेको छ। लेखा व्यवसाय प्रवर्द्धनका लागि नेपाली पेशागत फर्मबाट निश्चित सीमासम्म सेवा खरिद अनिवार्य गर्नुपर्ने सुझाव पनि दिइएको छ।
संस्थाले कृषि क्षेत्रमा व्यवसायिक खेती विस्तार, सहकारी क्षेत्रको प्रभावकारी नियमन, खराब कर्जामा कर सहुलियत तथा प्रवासी लगानी कोष स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। साथै, स्टार्टअप र प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र क्रिप्टोजस्ता नयाँ प्रविधिका लागि छुट्टै नीतिगत संरचना आवश्यक रहेकोमा पनि जोड दिएको छ।


