काठमाडौं। विदेशी विनिमय सञ्चिती बढेर नयाँ कीर्तिमान कायम भएको छ। चालू आर्थिक वर्षको नौ महिनामा विदेशी विनिमय सञ्चिती ३०.५ प्रतिशत बढेर ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
२०८२ असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँबराबर रहेको थियो। यस्तै अमेरिकी डलरमा २०.८ प्रतिशत बढेर २३ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारमा १९ अर्ब ५० करोड थियो।
कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ।
चालू आर्थिक वर्ष २०८२/०८३ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
२०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५७.२, १५३.१ र ४१.२ प्रतिशत रहेका छन्। २०८२ असारमा उक्त अनुपातहरू क्रमशः ४३.८, १२८.१ र ३४.१ प्रतिशत रहेका थिए।


