काठमाडौँ: अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउन नसक्ने अवस्था आएको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित भएका छन्। निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बिहीबारदेखि सरकारी निकायहरूमा धर्ना र घेराउ गर्ने कार्यक्रमसहित आन्दोलनको घोषणा गरिसकेको छ।
कार्यक्रमअनुसार बिहीबार ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूमा व्यवसायीले धर्ना दिएका छन्। यसबाहेक काठमाडौँमा सडक विभाग, सिँचाइ विभाग र सम्बन्धित मन्त्रालयहरूमा समेत धर्ना दिएका छन्।
महासंघका प्रवक्ता मंगलबहादुर शाहीले व्यवसायीका समस्याहरूप्रति सरकार गम्भीर नदेखिएको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए।
महासंघले बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्ने, काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्ने रआगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्ने तीन बुँदे माग राखेको छ।
अत्यधिक रूपले इन्धन लगायतका निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धिका कारण सम्पूर्ण आयोजनाहरू स्वतः बन्द भएको अवस्थामा सो मूल्यवृदिलाई नेपाल सरकारबाट सम्बोधन नभएसम्म निर्माणको काम सबै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन्।
महासंघले निर्माण व्यवसायीहरूलाई सरकारले कानुन विपरीत धरकपड गरिएको भन्दै आपत्ति समेत जनाएको छ।


