काठमाडौं। चितवनको भरतपुरमा नयाँ खानेतेल उद्योग सञ्चालनमा आउने भएको छ। कूल ६८ करोड रुपैयाँ लगानीमा रोयल रिफाइनरी प्रालि सञ्चालनमा आउन लागेको हो।
हाल उद्योग पूर्वाधार निर्माणको प्रारम्भीक चरणमा रहेको रोयल रिफाइनरीले जनाएको छ। उद्योगमा ४३ करोड रुपैयाँ ऋण र २५ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ।
६३ प्रतिशत ऋण र ३७ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। उद्योगको खानेतल उत्पादन क्षमता दैनिक दुई सय टन रहेको छ। तेल उत्पादन प्लान्ट नेपाल–भारत सीमाको निकटताका कारण उद्योगलाई रणनीतिक फाइदा हुने देखिएको छ।
उद्योगले भारतीय बन्दरगाहमार्फत कच्चा पदार्थ आयात गर्ने भएकोले सीमा नजिक हुँदा ढुवानीलगायत अन्य लागत घटाउन मद्दत गर्दछ। रोयल रिफाइनरीले खानेतेल भारतमा निर्यात गर्ने योजना बनाएको छ। चितवनमा धेरै तोरी उत्पादन हुने गरेको छ।
भारतमा निर्यात बढेपछि नेपाली खानेतेल उद्योगको व्यापारमा चमक आएको छ। उद्योगहरुले अर्बौं रुपैयाँको खानेतेल भारतमा निर्यात गर्दै आएका छन्।
दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत भारतले भन्सार सहुलियत दिएपछि नेपाली खानेतेल उद्योगहरूको व्यापारमा चमक आएको हो। नेपालबाट सबैभन्दा बढी भटमासको तेल निर्यात हुने गरेको छ। त्यसपछि पामआयल र वनस्पति घिउ रहेको छ।
आन्तरिकका साथै भारतमा राम्रो बजार देखेपछि नेपालका ठूला व्यवसायिक घरना त्रिवेणी ग्रुप, केएल दुगड, आरएमसी ग्रुप, शिवशक्ति ग्रुपले ठूलो परिमाणमा खानेतेल भारतमा निर्यात गर्दै आएका छन्।
भारतमा खानेतेलको आयात १३ प्रतिशत बढेको छ। यो आर्थिक वर्षको छ महिनामा भारतले ७९ लाख ४ हजार टन खानेतेल आयात गरेको त्यहाँको सोल्भेन्ट एक्स्ट्र्याक्टर्स एसोसिएसन अफ इन्डिया (एसईए) ले जनाएको छ।
विश्वकै धेरै खाना पकाउने तेल खरिद गर्ने भारतले अघिल्लो वर्ष सोही अवधिमा ७० लाख४ हजार टन खानेतेल आयात गरेको थियो। भारतले नेपाल, मलेशिया, इन्डोनेसिया, अर्जेन्टिना, ब्राजिल, रसिया र युक्रेनबाट खानेतेल आयात गर्दै आएको छ।
